टिकाथली र चरिकोटमा केएमसीको स्वास्थ्य शिविर, झन्डै ३ हजारको नि:शुल्क जाँच तथा उपचार

  • २५ पुष २०७८, आईतवार

ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टिकाथलीमा र दोलखाको चरिकोटमा भएको निःशुल्क स्वास्थ्य शिविरमा झन्डै तीन हजार जना बिरामीले जाँच तथा उपचार गराएका छन् ।
केएमसी, उदय विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र महालक्ष्मी नगरपालिका वडा नंम्बर ७ को सहकार्यमा टिकाथलीमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो ।
शिविरमा ९ सय २१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १ सय ९४ जनाको रक्त परीक्षण, १ सय ७७ जनाको भिडियो एक्सरे, र ९७ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३३ जनाको दाँत निकालिएको छ ।
वडा कार्यालय भवनमा भएको शिविरमा केएमसीका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपचार सम्भव नभएका ६२ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

चरिकोटमा केएमसीको दुई दिने स्वास्थ्य शिविर, १८ सय बिरामीको निःशुल्क उपचार
दोलखाको चरिकोटमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १८ सय भन्दा बढी बिरामीले निःशुल्क उपचार पाएका छन् ।
केएमसी, भिमेश्वर गाउँपालिका वडा नंम्बर ८ र सत्याग्रह साप्ताहिकको सहकार्यमा दुई दिने शिविर संचालन गरिएको हो ।
चरिकोट स्वास्थ्य चौकी र वडा कार्यालयमा विहिबार र शुक्रबार संचालन भएको शिविरमा एक हजार ८ सय ७६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा ४ सय २५ जनाको रक्त परीक्षण, ३ सय ३८ जनाको भिडियो एक्सरे र २ सय ८९ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले जानकारी दिए । त्यस्तै ९९ जनाको दाँत खोलिएको छ ।
शिविरको पहिलो दिन एक हजार १३ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरमा उपचार सम्भव नभएका ९३ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।