केएमसीमा बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर

  • २१ माघ २०७८, शुक्रबार

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ ।

केएमसीले मंगलबार एक कार्यक्रम गरी १ सय ६८ बेड क्षमताको आइसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो ।
केएमसीका प्रमुख सल्लाहकार डा. केपी शर्मा र अस्पताल निर्देशक डा.सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरेका छन् । गत बर्षदेखि केएमसीको व्यवस्थापन फेरिएको छ । नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि केएमसीले सेवा सुविधा बढाउदै लगेको छ ।

पहिले केएमसीमा आइसीयूका ३४ बेड थिए । अहिले १ सय ३४ बेड थरेर नेपालकै सबैभन्दा ठूलो १ सय ६८ बेड क्षमताको आइसीयू सेन्टर सञ्चालनमा ल्याइएको केएमसीका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए । अब केएमसी नेपालको सबैभन्दा ठूलो आइसीयू सेन्टर भएको छ,’ डा.शर्माले भने, अहिले हामीले १ सय ६८ बेड क्षमताको आइसीयू सञ्चालमा ल्याएका छौं, नेपालका कुनै पनि निजी वा सरकारी अस्पतालमा यत्रो आइसीयू सेन्टर छैन ।’

केएमसीले यसअघि नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र बाल रोग सघन उपचार कक्ष पनि सञ्चालनमा ल्याएको छ । हाल ६८ बेडको जेनेरल आइसीयू, ४० बेडको एनआइसीयू, २२ बेडको पल्मो आइसीयू, १२ बेडको एमआइसीयू, ११ बेडको एसआइसीयू, १० बेडको पीआइसीयू र ५ बेडको न्यूरो आइसीयू सञ्चालनमा छन् ।

आइसीयू शुल्क पनि नेपालकै सबैभन्दा सस्तो कायम गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले दाबी गरे । उनी भन्छन्, सरकारी क्षेत्रबाट सञ्चालित वीर अस्पताल र सिभिल अस्पतालमा आईसीयू चार्ज दुई हजार छ, हामीले १९ सय रुपैयाँमै आइसीयू उपलब्ध गराउँने गरेका छौ ।’ केएमसीले ५८ वटा भेन्टिलेटर पनि सञ्चालनमा ल्याएको छ ।