खाँडादेवीमा केएमसीको स्वास्थ्य शिविर, दुई हजार विरामीको नि:शुल्क जाँच तथा उपचार

  • २६ माघ २०७८, बुधबार

रामेछापको खाँडादेवी गाउँपालिका ९ पिङ्खुरीमा भएको  निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार भन्दा बढी बिरामीले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् ।

काठमाडौं मेडिकल कलेज र खाँडादेवी गाउँपालिका ९ नं. वडा कार्यालयको सहकार्यमा मानेडाँडा माध्यमिक विद्यालयमा भएको दुई दिने शिविरको पहिलो दिन ९५३ जना विरामीको निःशुल्क उपचार गरिएको थियो । पहिलो दिन १ सय ९७ जनाको भिडियो एक्सरे, १ सय ८९ जनाको रक्त परीक्षण र १ सय १३ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

दाँतमा समस्या भएर शिविरमा आएका ३१ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ विरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ । दोस्रो दिन हजारभन्दा बढी बिरामीको जाँँच तथा उपचार भएको केएमसीले जनाएको छ ।

केएमसीले बिभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि गत बर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले यसबीचमा लाखौं विरामीको निःशुल्क उपचार गरिसकेको छ ।