स्थानीय सरकारलाई दलीय सिण्डिकेटमुक्त बनाउन जुट्दै स्वतन्त्र उम्मेद्वारी अभियान

  • १८ चैत्र २०७८, शुक्रबार

‘अबको स्थानीय सरकार, ७५३ वटै स्थानीय तहमा स्वतन्त्र उम्मेद्वार’ को मुख्य नारासहित स्वतन्त्र उम्मेदवारी अभियानले स्थानीय तह दलीय राजनीतिमुक्त बनाउने अभियान थालेको छ।

स्वतन्त्र उम्मेद्वारी अभियानमार्फत हालसम्म १ हजार ९ सय ९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी घोषणा गरेका छन् । जसअन्तर्गत प्रदेश–१ मा ३ सय ४७ जना, मधेश प्रदेशमा ३ सय ९ जना, बागमती प्रदेशमा ३ सय ६४ जना र गण्डकी प्रदेशमा २ सय ८६ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । त्यसैगरी लुम्बिनीमा २ सय ६५ जना, कर्णालीमा १ सय ८८जना र सुदूरपश्चिम प्रदेशमा २ सय ३९ जनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

देशभरबाट हालसम्म कूल ४ हजार ६ सय ५७ जनाले उम्मेद्वारी हुने इच्छासहितको फारम भरेको स्वतन्त्र उम्मेदवारी अभियानले जनाएको छ ।

स्थानीय तहमा स्वतन्त्र उम्मेदवार दिन तयार भएका स्वच्छ छवि, नैतिक र इमान्दार जो कोही पनि यो अभियानमा जोडिन सक्नेछन् । स्थानीय तह भ्रष्टाचारमुक्त हुनुपर्ने, जनताका दैनन्दिन आवश्यकता पूरा गर्नुपर्ने, विकासका एजेण्डालाई प्राथमिकता दिनुपर्ने भन्दै अभियानले स्थानीय सरकार दलीय हुँदा विकासका मुद्दा ओझेलमा परेको, जनताका आवश्यकता पूरा नभएको दाबी गरेको छ ।

चुनावमा हुने करौडौं खर्चको विरोधकै लागि अभियानले यही हप्ता सडकमै पत्रकार सम्मेलन गरेको थियो ।
अभियानले कसरी काम गर्छ ?
अभियानले तीन तहमार्फत आफ्नो अजेण्डा जनता समक्ष लैजाने छ । पहिलो तहमा मेन्टर वा सल्लाहकार रहनेछन् । यसमा स्थानीय सरकार सञ्चालन, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका विज्ञ रहनेछन् । दोस्रो तहमा कार्यकारी समिति रहनेछ । यसले उम्मेद्वार र अन्य आवश्यक संयन्त्र जस्तै– संघसंस्था, सञ्चार माध्यमबीचको पुल बनेर व्यवस्थापनको काम गर्नेछ । तेस्रो तहमा कर्मचारी र स्वयम्सेवकहरू रहनेछन् । यो तहमा रहनेले विभिन्न तहसँग सम्पर्क, समन्वय गर्ने, कामको डिजाइन र कार्यान्वयनमा लैजान सघाउने छ ।