धनकुटामा ६ महिनाभित्र भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटना सार्वजनिक

  • १३ असार २०७९, सोमबार

अनौपचारिक सेवा केन्द्र (इन्सेक) धनकुटाले धनकुटामा वितेका ६ महिना भित्र भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटना सार्वजनिक गरेको छ।

इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना गरि ४८ जना विभिन्न घटनाबाट पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो।

मानव अधिकार वर्षपुस्तक सन् २०२३ का लागि संकलित विवरण अनुसार घरेलु हिंसाका ३०, हत्या २, कुटपिट राज्यपक्षबाट १, गैरराज्य पक्षबाट ३, धारिलो हतियार प्रहार ३, महिला तथा बालिका बलात्कारका ८ र बलात्कार प्रयास १ घटना गरी जिल्लामा ४८ ओटा घटना अभिलेख गरेको सरोकारवाला समक्ष इन्सेक प्रतिनिधी ईश्वर थापाले बताए । गत वर्षभरिमा ५७ वटा घटना भएकोमा यो वर्ष ६ महिनाकै अबधिमा ४८ जना पिडित भएको हुँदा यो वर्ष मानव अधिकार उल्लंघनका घटना बढि हुनसक्ने अनुमान रहेको इन्सेक धनकुटा प्रतिनिधि थापाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताए । उनले इन्सेकले अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कट्टेल, प्रहरी निरीक्षक मान बहादुर श्रेष्ठ, हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।