खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार सेवा दिँदै नोबेल र केएमसी

  • २६ असार २०७९, आईतवार

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक, साफ र एशियन खेलकुदमा सहभागी नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् ।

ओलम्पिकमा सहभागी नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउने भएका हुन् ।

खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्नेछ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओलम्पिक खेलाडी सम्मान कार्यक्रममा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको हो । यो बिषयमा नेपाल ओलम्पियन्स एशोसिएसन काठमाडौं र प्रदेश १ खेलकुद विकास बोर्ड विराटनगरले नोबेल र केएमसीसँग छुट्टा–छुट्टै सम्झौता गरेका छन् ।

प्रदेश १ खेलकुद विकास बोर्डसँग भएको सम्झौता पत्रमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्मा, नोबेलका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल र प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, ओलम्पियन्स एशोसिएसनसँग भएको सम्झौतामा पनि काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.शर्मा, नोबेलका प्रवन्ध निर्देशक बराल र एशोसिएसनका अध्यक्ष दिपक बिष्टले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्काबीच साटासाट गरिएको थियो ।

सम्झौता अनुसार अन्तर्राष्ट्रिय खेलकुद ओलम्पीकमा भाग लिएका देशभरका सम्पूर्ण खेलाडीले नोबेल र केएमसीमा निःशुल्क उपचार पाउनेछन् । साफ र एशियन खेलकुदमा सहभागी प्रदेश १ का सम्पूर्ण खेलाडीहरुलाई पनि नोबेल र केएमसीले निःशुल्क उपचार गर्नेछन् । उनीहरुले दुवै अस्पतालको क्याबिनमा रहेर उपचार गराउँदा पनि शुल्क लाग्ने छैन ।

ओलम्पिकमा हालसम्म नेपालका ८८ खेलाडीले भाग लिएका छन् । जसमध्ये १० जनाको मृत्यु भइसकेको छ । यता, प्रदेश १ का २२५ खेलाडीले साफ र एशियन खेलकुदमा भाग लिएका छन् । उनीहरुले निःशुल्क उपचार सेवा पाउनेछन् ।

यता, ती खेलाडीका आमा–वुवा, श्रीमान–श्रीमती तथा छोरा–छोरीको उपचारमा पनि दुवै अस्पतालले ५० प्रतिशत छुट दिने सम्झौता पत्रमा उल्लेख छ । निःशुल्क तथा उपचारमा छुट पाउनेहरुलाई नोबेल र केएमसीले उपलब्ध गराएको छुट कार्डको आधारमा सेवा दिइनेछ । आइतवारवाटै यो सम्झौता लागू भएको छ ।

कार्यक्रममा बोल्दै केएमसीका कार्यकारी अध्यक्ष डा. शर्माले देशको प्रतिनिधित्व गर्दै खेल्ने खेलाडीहरुको समस्यालाई मध्यनजर गर्दै निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए । ‘खेलाडीहरुले आफ्नो देशको नाम राख्नका लागि कडा मेहनतले खेलिरहेका हुन्छन्, उनीहरुको जीवननै त्यसैमा समर्पित भइरहेको हुन्छ,’ डा.शर्माले भने, ‘देशका निम्ती खेल्ने खेलाडीहरुका आफ्नै पीडा व्यथा छन्, उनीहरुले कुनै रोग लाग्दा उपचार गर्ने पैसा छैन भन्न पनि अफ्ठेरो भइरहेको हुन्छ, यस्तो समस्यालाई बुझेर निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हौं ।’
१ सय ८७ खेलाडीहरु सम्मानित
कार्यक्रममा प्रदेश १ खेलकुद विकास बोर्डले १ सय ८७ जना खेलाडीलाई सम्मान गरेको छ । बोर्डले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रदेश १ बाट सहभागी भएर खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्र्याएको भन्दै खेलाडीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा ओलम्पपकमा सहभागी ६ जना, एसियालीमा सहभागी ४० जना र दक्षिण एसियाली खेलकुदमा सहभागी १ सय ४१ जना खेलाडी छन् । उनीहरूलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्मानपत्र प्रदान गरी सम्मानित गरेका हुन् ।
डा.शर्मा दम्पतीलाई पनि सम्मान

खेलाडीहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाएर सहयोग पुर्याएको भन्दै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्मा र नोबेल मेडिकल कलेजका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराललाई सम्मान गरिएको छ ।
प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोर्ड र ओलम्पियन्स एशोसिएसनको तर्फबाट डा.शर्मा र बराललाई सम्मान गरिएको हो । मुख्यमन्त्री राजेन्द्र कुमार राइले उनीहरूलाई सम्मान गरे ।