स्त्रीरोगलाइ केन्द्रित गरी बिराटचोकमा नोबेलको स्वास्थ्य शिविर, ७ सय बढी विरामी लाभान्वित

  • २२ भाद्र २०७९, बुधबार

विशेषगरी स्त्रीरोगलाई केन्द्रित गरी नोबेल शिक्षण अस्पतालले सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा  निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

स्त्री रोग बिशेषज्ञ डा. प्रतिमा काफ्लेसहित २२ जना स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको शिविरमा उपचारका लागि ठूलो संख्यामा महिलाहरु आएका थिए ।

विराट चेस क्लवसँग सहकार्य गरेर सञ्चालन गरिएको एकदिने शिविरमा ७ सय ६५ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

शिविरमा १ सय ४५ जनाको इसीजी, १ सय ९४ जनाको रक्त परीक्षण र १ सय ९७ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएर शिविरमा आएका ३७ जनाको दाँत उखेलिएको छ ।

शिविरमा उपचार सम्भव नभएका ४२ जना विरामीलाई थप उपचारका लागि नोबेल अस्पताल रेफर गरिएको छ । उनीहरुलाई अस्पतालकै गाडीमा नोबेल ल्याएर उपचार गरी घर पुर्याउने व्यवस्था पनि मिलाइने अस्पतालले जनाएको छ ।

नोबेलले पूर्वी नेपालका बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं विरामीले निःशुल्क उपचार पाएका छन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा मोरङको बेलवारीका स्थायी बासिन्दा हुन् । सो क्षेत्रमा घर घरमै डाक्टर पठाएर ‘एम्बुलेन्स क्याम्प’ पनि सञ्चालन हुँदै आएको छ ।

बर्षौअघिदेखि सो क्षेत्रका बासिन्दालाई अवस्था हेरी नोबेलमा निःशुल्क र सहुलितमा उपचार गराइरहेका डा.शर्मालाई अहिले कांग्रेसले मोरङको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत उम्मेद्वारको रुपमा अघि सारेको छ ।