केराबारी गाउँपालिकाले सार्वजनिक गर्यो निर्वाचन पश्चात १ सय दिनका उपलब्धि

  • २८ भाद्र २०७९, मंगलवार

केराबारी गाउँपालिकाले सार्वजनिक गर्यो निर्वाचन पश्चात १ सय दिनका उपलब्धि
केराबारी गाउँपालिकाले निर्वाचन पश्चात  १०० दिनमा गरेका महत्वपूर्ण कामहरु सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले सिंगो केराबारी गाउँपालिकालाई आर्थिक तथा सामाजिक रुपमा समृद्धितर्फ उन्मुख गराउने उद्देश्यले निर्वाचन पश्चात १०० दिनमा गरेका महत्वपूर्ण कार्यहरु तयार गरी संचारकर्मीहरुलाई उपलब्ध गराएका छन्  ।

केरावारी गाउँपालिकाको दिर्घकालिन लक्ष्य, गाउँपालिकावासीको माग तथा आवश्यकता र घोषणापत्रमा उल्लेख गरिएका विषयवस्तुहरुलाई सार्थक रुपमा अगाडि लैजानका निम्ति जनप्रतिनिधि तथा कर्मचारीहरु अहोरात्र लागि रहेको मिरिङ्चिङले बताएका छन्  ।

अधिकांश भुभाग पहाडी क्षेत्रले ओगटेको केराबारी भौगोलिक रुपमा दुर्गम भए तापनि यहाँ रहेका सिमित श्रोत साधनहरुको उपयोग गर्दै केराबारीवासी नागरिकको माग तथा आवश्यकतालाई सम्बोधन गर्न १०० दिनमा महत्त्वपूर्ण कार्यहरू गरेको मगरले दाबी गरेका छन् ।
केराबारी गाउँपालिकाले १ सय दिनमा गरेका महत्वपूर्ण कामहरु :
१. केरावारी पालिका अस्पतालमा फिजियोथेरापी सेवा सहितको विहान ६ वजे देखि वेलुका ६ बजेसम्म OPD सञ्चालन ।
२. सेवा सञ्चालनको सुरुवात गरिएको छ । शारिरिक रुपमा अशक्त तथा भौगोलिक रुपमा कठिन क्षेत्रका नागरिकहरुलाई संबन्धित वडावाटै सहज रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उद्देश्य अनुरुप बैंकसँगको सहकार्यमा वडा नं. १ बाट सामाजिक सुरक्षा भत्ता वितरण कार्यको शुरुवात गरिएको ।
३. भौगोलिक रुपमा विकट रहेको यस गाउँपालिकाको वडा नं. १ र २ मा गर्भवती महिलाहरुका लागि सुरक्षित प्रसुती सेवा सुनिश्चित गर्नका लागि वर्थिङ सेन्टर स्थापना गरि सञ्चालनमा ल्याइएको ।
४. आर्थिक रुपमा विपन्न नागरिकको उपचार खर्च र वेवारिसे शव व्यवस्थापन तथा मृत्यु संस्कार खर्च उपलब्ध गराउनका लागि केराबारी गाउँपालिकाको आर्थिक सहायता सम्बन्धि कार्यविधि, २०७९ पारित गरी कार्यान्वयनमा ल्याइएको ।
५.  आमा र बच्चाको स्वास्थ्यमा हुन सक्ने जटिल समस्यालाई लक्षित गरि (VIDEO X-RAY) अल्ट्रासाउण्ड कार्यक्रम नियमित रुपमा प्रत्येक महिनाको एक दिनका दरले क्रमशः वडा नं. १. २. ५ र ९ मा रहेका स्वास्थ्य चौकी साथै केरावारी पालिका अस्पतालमार्फत सञ्चालनमा ल्याइएको ।
६. केराबारी गाउँपालिका वडा नं. ८ र १० स्थित केराबारी बजार क्षेत्रको सौन्दर्यकरणका लागि सो क्षेत्रमा फुटपाथ पसल, हटिया तथा पार्किङ क्षेत्र व्यवस्थापन गर्नलाई कार्ययोजना सहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गरि सो कार्यदलबाट कार्य प्रारम्भ गरिएको।
७. कृषि उपज संकलन तथा भण्डार कक्ष निर्माण साथै अस्पताल फार्मेसी सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको ।
८. यस क्षेत्रको खानेपानी समस्याको दीर्घकालिन समाधानका लागि खानेपानी संस्था तथा समितिहरु एकिकरण गरि सर्वसुलभ रुपमा शुद्ध पिउने पानीको दीगो रुपमा व्यवस्थापन गर्नका लागि आवश्यक कार्यविधि निर्माणको काम अन्तिम चरणमा रहेको ।
९. निजी जग्गा सम्याउनका लागि ठोस कानुन नहुँदा जग्गा सम्याउने भन्दै अवैध रुपमा डुङ्गा, गिटी तथा माटोको चोरी निकासी हुने गरेकोमा उक्त कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले “केराबारी गाउँपालिकाको जग्गा सम्याउने सम्बन्धी कार्यविधि, २०७९ जारी गरी कार्यान्वयनमा ल्याइएको ।
१०. सार्वजनिक जग्गाको अतिक्रमण रोकी उचित व्यवस्थापन गर्नका लागि “केराबारी गाउँपालिकाको सार्वजनिक जग्गा संरक्षण तथा उपयोग सम्बन्धी कार्यविधि, २०७९ जारी गरी कार्यान्वयनमा ल्याइएको ।
११. केरावारी गाउँपालिकामा वर्षायामको समयमा लगातार जसो हुने गरेको विद्युत अवरोधको समस्यालाई निराकरण गर्ने उद्देश्यले विद्युत प्राधिकरणसँगको समन्वय र सहकार्यमा केराबारी खोसनि सडक खण्डमा विद्युत पोल परिवर्तनसँगै Insulated Wire जडान गरिएको ।
१२. अध्यक्षसँग जेष्ठ नागरिक, पूर्ण अशक्त, अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण कार्यक्रम” अन्तर्गत जेष्ठ नागरिक साथै पूर्ण तथा अति अशक्तहरुको घर घरमै स्वास्थ्य परिक्षण साथै जेष्ठ नागरिक र पूर्ण तथा अति अशक्त दीर्घरोगी हरुलाई नि:शुल्क औषधीको व्यवस्थाका लागि तथ्यांक संकलन कार्य शुरु गरिएको ।
१३. केरावारी गाउँपालिका भित्रका विपन्न र अशक्त नागरिकहरुलाई निशुल्क सेवा पुर्याउने उद्देश्यले एउटा एम्बुलेन्स  खरिद गर्ने प्रकृयामा रहेको ।
१४.  एकद्वार प्रणालीवाट हाजिरी व्यवस्थापनका लागि केराबारी गाउँ कार्यपालिकाको कार्यालयमा मात्र रहेको फेस रिडर सहितको इ- हाजिरी लाई सबै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरमा विस्तार गर्नका लागि प्रकृया सुरु गरिएको ।