लोकप्रिय छन् चितवन- ३ का उम्मेदवार डा. भोजराज, ‘सेफ जोन’ मा रहेकोे दाबी

  • २ कार्तिक २०७९, बुधबार

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार तयार गर्दा प्रचण्डले यसपटक चितवनका एक अब्बल र जनताको बीचमा लोकप्रीय डाक्टरलाई उम्मेदवार बनाउँदै आफूले निर्वाचन क्षेत्र नै छाडेर गोरखा पुगे ।

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि चितवन- ३ बाट डा. भोजराज अधिकारीलाई मैदानमा उतारेको छ । डा. अधिकारीलाई आफ्नो निर्वाचन क्षेत्रबाट मैदानमा उतारेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने गोरखाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

प्रचण्डको त्यो उद्घोष

त्यसो त प्रचण्डले यसपटक अब्बल र कसैले पनि नसोचेको उम्मेदवारलाई चुनावी मैदानमा उतार्ने उद्घोष यसअघि नै गरिसकेका थिए ।
प्रचण्डले अब्बल डाक्टरलाई आफ्नो निर्वाचन क्षेत्र चितवन- ३ को मैदानमा उम्मेदवार बनाए अनि आफूचाहिँ गोरखाबाट उम्मेदवार बने ।
चितवनबासीको मनमनमा भोजराज
डा. भोजराज अधिकारी चितवनबासीको मनमनमा बसेका चिकित्सक हुन् । उनी गठबन्धनबाट चितवन- ३ मा माओवादी केन्द्रका उम्मेदवार भएपछि चितवनबासीले उनीप्रति निकै आत्मियता देखाएको माओवादी केन्द्रका जिल्ला नेताहरू बताउँछन् ।

कतिसम्म भने चुनावी अभियानअन्तर्गत भोट माग्दै हिँडेका डा. अधिकारीलाई चितवनका स्थानीयले पहिला आफ्नो रिपोर्ट देखाएर स्वास्थ्य सल्लाह माग्छन् ।

‘पहिले यो मेरो रिपोर्ट चैँ हेरिदिनुस्‌ न डाक्टरसाब, तपाईं उठेपछि भोट त दिइहाल्छम् नि,’ चुनावी अभियानमा चितवनका मतदाताले डा. अधिकारीलाई गरेको आग्रह सम्झँदै माओवादीका जिल्ला नेता भन्छन्, ‘उहाँ चिकित्सकका रूपमा जनतामा पूरै भिज्नुभएको छ । जनतासँग धेरै भावनात्मक र आत्मीय सम्बन्ध छ ।’
एमालेले मैदान छाड्यो, कांग्रेसको पूर्ण समर्थन भोजराजलाई
चितवन- ३ को मैदानबाट नेकपा एमाले पछि हटेको छ । चितवन ३ बाट नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको थियो । तर, उनको उम्मेदवारी एमालेले फिर्ता गराएको छ ।
एकातर्फ एमालेले उम्मेदवारी फिर्ता गराएको र अर्कातर्फ कांग्रेससहित सत्ता गठबन्धनको साथ पाएपछि माओवादीका उम्मेदवार डा. भोजराज अधिकारी ‘सेफ जोन’ मा रहेको स्थानीयहरू बताउँछन् ।

त्यसो त चितवन-३ मा कांग्रेसको बागी उम्मेदवारी पनि परेको छ । तर, बागीलाई पार्टीले कारबाही गर्ने भएको छ । जसका कारण चितवन कांग्रेसको मत पनि आफूले पाउने डा. अधिकारी बताउँछन् । सोही कारण आफूले चुनाव जित्नेमा उनी निर्धक्क छन् ।

‘गठबन्धनको मत त आउँछ नै । गठबन्धनभन्दा बाहिरको मतदाताहरूसँग पनि मेरो आत्मियता छ । उहाँहरूले पनि मलाई नै मत दिनुहुन्छ भन्नेमा ढुक्क छु,’ अधिकारी भन्छन् ।

त्यसो त स्थानीय चुनावको मतभार हेर्दा पनि चितवन- ३ मा गठबन्धन निकै अगाडि छ । त्यसमाथि अधिकारीको व्यक्तिगत लोकप्रियताका कारण यो मत थप बढ्ने माओवादीका जिल्ला नेताहरू बताउँछन् ।
को हुन् अधिकारी ?
डा. भोजराज अधिकारीको जन्म वि.सं. २०३६ सालमा चितवनको तत्कालीन कुरिनटार गाविसको कमेरेको एक विपन्न परिवारमा बाबु एकदेव अधिकारी र आमा चुनादेवी अधिकारीको छैटौँ सन्तानका रूपमा भएको हो ।

उनी १ वर्षका हुँदा उनको परिवार जन्मथलो छोडेर चितवनको साविक पटिहानी गाउँपालिका अर्थात हालको भरतपुर महानगरपालिका- २२ मा बसाई सर्‍यो ।

पटिहानीकै राष्ट्रिय प्राथमिक विद्यालयबाट उनको प्राथमिक शिक्षा सुरु भयो । पटिहानीकै अमर माविबाट २०५२ मा अधिकारीले विशिष्ट श्रेणीमा एसएलसी उर्तीण गरे । पढाईमा अब्बल अधिकारी कहिल्यै दोस्रो हुनु परेन । विद्यालयकै सबैभन्दा धेरै नम्बर ल्याउने विद्यार्थी थिए उनी । सधैँ विद्यालय टप गर्थे । कक्षा ५ र ८ को परीक्षामा उनले चितवन जिल्ला टप गरे ।

अधिकारीले एसएलसीपछि अमृत साइन्स क्याम्पसबाट २०५४ सालमा प्रथम श्रेणीमा आईएससी गरे । अनि शिक्षा मन्त्रालयको छात्रवृत्तिमा पोखरास्थित मणिपाल मेडिकल कलेज, शिक्षण अस्पतालबाट एमबीबीएस गरे ।

त्यसपछि अधिकारीले चिकित्सा क्षेत्रको पहिलो काम चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) बाट सुरू गरे । सोही मेडिकल कलेजबाट काठमाण्डौं विश्वविद्यालयको इन्टरनल मेडिसिन (फिजिसियन) मा एमडी गरे ।

एमडी अध्ययन गर्दागर्दै उनले लोकसेवामार्फत सरकारी चिकित्सकको रूपमा नाम निकालेर हालको कालिका नगरपालिकाको जुटपानी स्वास्थ्य चौकीमा सरकारी चिकित्सक बने । त्यो उनको पहिलो सरकारी सेवा थियो ।

त्यसपछि अधिकारीले पुरानो मेडिकल कलेजबाट विशिष्टिकृत सेवा सुरु गरे । एमडी अध्ययन गर्देगर्दा कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालमा उनकै नेतृत्वमा नेपालमै नीजि क्षेत्रबाट पहिलोपटक मिर्गौलाको डायलायसिस सेवा सुरु भएको थियो ।

अधिकारी १७ वर्षदेखि चिकित्सा क्षेत्रमा कार्यरत छन् । पछि उनी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष भए । माओवादीले प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएपछि अस्पताल अध्यक्षको पदबाट राजीनामा दिएर अधिकारी चुनावी मैदानमा होमिएका छन् ।

१७ वर्षसम्म स्वास्थ्य सेवामा सक्रिय रहँदा अधिकारीले धेरै चितवनबासीको उपचार गराएका छन् । धेरैलाई स्वास्थ्य सल्लाह दिएका छन् । अनि धेरैलाई निको बनाएर घर फर्काएका छन् ।

उनी राजनीतिक रूपमा २०५२ मै संगठित भएका थिए । त्यतिबेला उनले नेकपा (मशाल)को सदस्यता लिएका थिए । हाल अधिकारी माओवादी केन्द्रनिकट स्वास्थ्य तथा जनसंख्या विभागको केन्द्रीय सचिव छन् । अस्पताललाई जनताकोमा पुर्‍याउने उनको सपना छ ।