मोरङ ४ मा सत्ता गठबन्धनको पक्षमा माहोल बनाउने कसरत, चुनावी अभियान तीव्र

  • १८ कार्तिक २०७९, शुक्रबार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङको क्षेत्र नं. ४ मा सत्ता गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन दलका उम्मेदवारले निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदाताका घर घरमा पुगिरहेका छन् ।

प्रतिनिधिसभातर्फ मोरङ क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदी उम्मेदवार छन् । प्रदेशतर्फ क मा कांग्रेसका गुरुराज घिमिरे र ख मा भीम पराजुली उम्मेदवार छन् ।

सत्ता गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियानलाई  तीव्रता दिएका छन् । सत्ता गठबन्धनले घरदैलो अभियान सुरु गरेसँगै चुनावी सरगर्मी बढेको छ ।
गठबन्धनले विराटनगरमा  बिहीबार वृहत् मोटरसाइकल ¥याली निकालेको छ । उम्मेदवारसहितको उपस्थितिमा बिहान विराटनगर १ पुष्पलाचौकबाट मोटरसाइकल ¥याली निकालिएको थियो । मोटरसाइकल ¥यालीले मोरङको क्षेत्र नं. ४ को विभिन्न वडा परिक्रमा गरी विराटनगर २ मा रहेको माओवादी पार्टी कार्यालय नजिक  तीन पैनी चौकमा कोणसभा गरिएको थियो ।

दिउँसो १ बजे विराटनगर १९ बाट सुरु भएको मोटरसाइकल ¥यालीले विभिन्न वडाहरू परिक्रमा गरेपछि ग्रामथान गाउँपालिका २ को झोरहाटमा कोणसभा भएको थियो ।
कोणसभा कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार मोदीले संसद्मा आफूले जनताको आवाज निर्भीक भएर बोलेको बताए । ‘संसद्मा निर्भीक भएर बोल्ने मान्छेको खाँचो छ, हामी संसद्मा तपाईँका समस्याहरू निर्भीक भएर बोल्नेछौँ,’ उनले भने । आफ्नो निर्वाचन क्षेत्र मोरङ ४ को बुझेको र भिजेको मान्छे भएकोले विकासमा लागि पर्ने उनले बताए । आफूले पाँच वर्षमा काम गर्दा जनताको जीवनलाई छोएको उनले सुनाए । ‘यहाँको समाजमा भिजेको छु । समाजमा रहेका विविधतासँग गाँसिएको छु । विकास,पूर्वाधार निर्माणको सवालमा मैले जसरी काम गरेको छु । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको सम्बन्धमा मैले काम गरेको छु ।
खेलकुददेखि महिला स्वावलम्बी बनाउने लगायतका जति पनि काम गरेको छु,जसको कारण जनताले व्यक्ति व्यक्ति घर घरले मलाई चिन्छन् । यो मेरो जन्म र हुर्केको ठाउँ पनि हो । म यहीँ हुर्केको,पढेको क्षेत्र हो । यहीँको धुलो, माटोमा हुर्केको बासिन्दा हो,’ उनले भने ।