मोरङ ३ बाट दोब्बर मतान्तरले सुनिल शर्मा विजयी, गठबन्धनकै प्रदेश उम्मेदवार पराजित

  • १० मंसिर २०७९, शनिबार

मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्वार सुनिल शर्मा विजयी भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका शर्मा भारी मतान्तरले विजयी भएका हुन् । शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी पुर्व मन्त्री नेकपा (एमाले) का भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका छन्। शर्मा र ढकालबीचको मतान्तर २२ हजार ७३६ रहेको छ।

यसअघि २०७४ सालको निर्वाचनमा शर्मालाई पराजित गरेर ढकाल प्रतिनिधिसभा सदस्य निर्वचित भएका थिए। वामपन्थी बाहुल्य क्षेत्रमा शर्माको प्रवेशसँगै कांग्रेसले पहिलोपटक जित निकालेको छ । प्रतिनिधि सभा सदस्यमा निर्वचित शर्मा नोबेल शिक्षण अस्पताल र काठमाडौं शिक्षण अस्पतालका सञ्चालक हुन् ।
यसैबीच शर्मा र ढकालसँग राप्रपाबाट प्रतिस्पर्धामा उत्रिएकी नायिका रेखा थापाले १० हजार ९९८ मत ल्याएकी छिन्।
निर्वाचन आयोगका अनुसार मंसिर ४ गतेको निर्वाचनमा यो क्षेत्रमा ९७ हजार १२६ मत खसेकोमा ९२ हजार २०२ सदर र ४ हजार ९२४ मत बदर भएको थियो ।
प्रदेशसभामा नेकपा एसलाइ धोका
त्यसैगरी मोरङको निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’ बाट कांग्रेसका मानबहादुर लिम्बू र ‘ख’ बाट एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका हुन्।
‘क’ मा सत्तारुढ गठबन्धनका उम्मेदवार लिम्बूले १९ हजार ७४९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका दिलिपकुमार राईले १४ हजार ८१७ मत मात्रै ल्याए । कांग्रेसबाट उम्मेदवारी दिएका प्रदेश १ वन, वातावरण तथ भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएपछि उनका ठाउँमा कांग्रेसले लिम्बूलाई टिकट दिएको थियो ।
यो क्षेत्रको प्रदेशसभामा ४७ हजार ३५० मत खसेमा ४५ हजार ५ सय ८७ सदर र १ हजार ७६३ मत बदर भएको निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले जानकारी दिए।

त्यस्तै ३ को ‘ख’बाट एमालेका ज्ञानेन्द्र सुवेदी १७ हजार ४२८ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमार श्रेष्ठले १५ हजार ३५८ मत पाएका थिए । सुनिल शर्मा प्रतिनिधिसभामा दोब्बर मतले बिजयी भएपनि श्रेष्ठ हार्दा गठबन्धनको बिश्वसनियतामा प्रश्न उठेको छ ।
यो क्षेत्रबाट राप्रपाका रमेश रिजालले १० हजार १२६ मत पाएका छन्। प्रदेशसभामा खसेको ४९ हजार ७४१ मतमध्ये ४७ हजार ८६५ सदर र १ हजार ८ सय ७६ मत बदर भएको थियो ।