भब्य रूपमा सम्पन्न भो तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा तथा धिमाल संस्कृति प्रदर्शनी

  • १५ फाल्गुन २०७९, सोमबार

धिमाल जातिको मौलिक खाना, रहनसहन, रितिरिवाज र संस्कतिको प्रचारप्रसार तथा प्रबर्द्धनका लागि तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी बेलबारीमा सम्पन्न भएको छ ।

‘संस्कृति, मौलिकता र स्वस्थ खाना’ भन्ने नाराका साथ फागुन १३ गते शनिबार बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी भएको हो ।

धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा भएको कार्यक्रममा प्रदेश सरकारका उर्जा, खानेपानी तथा सिचाइ मन्त्री तिलकुमार मेयाङ्बो प्रमुख अतिथि थिए । त्यसैगरी प्रदेश सांसद मानबहादुर लिम्बु, बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई, जनजाति महासंघका नेता तिलक राइ लगायत विभिन्न जतीय एवम् विभिन्न संघ संस्थाका प्रतिनिधि पनि अतिथिका रूपमा उपस्थित थिए । अतिथिहरुलाइ धिमाल परिकारका घुँगी लगायतका खानेकुरा पनि खुवाइएको थियो ।

प्रदर्शनी (स्टल) मा धिमाल जातिका मौलिक खानाहरू चिचिरी, गेन्द्रो, तोले, चुदुर (घुंगी), पायाको बिहा (सुंगुरको मासु), गोरा (रक्सि), हाया (माछा) लगायत परिकार उपलब्ध थिए । लोप हुन लागेका धिमाल जातीका खानाका परिकार तथा कला र संस्कृतिको संरक्षणको लागि कार्यक्रम आयोजना गरिएको र कार्यक्रम भब्य रूपमा सफल भएको धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालले बताए ।

सो अवसरमा धिमाल कलाकारबाट सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रममा गायिका मेचु धिमाल, गायकहरू डिकबहादुर धिमाल, सञ्जीव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार विक्रम धिमाल र नृत्यकार सरस्वती धिमाल लगायतले प्रस्तुति दिएका थिए । प्रदर्शनीमा गरगहना, पुस्तक, तानबुन्ने, धिमाल समुदायले उत्पादन गर्ने पेटानीलगायत सामग्री तथा बाध्यवादन सामग्री समेत प्रदर्शनी गरिएको थियो ।

कार्यक्रमका लागि दमक नगरपालिका, उर्लाबारी नगरपालिका, पथरी नगरपालिका र बेलबारी नगरपालिकाले सहयोग गरेका थिए । करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । प्रदर्शनीमा दुई हजारभन्दा बढी दर्शकको सहभागिता रहने अनुमान गरिएकोमा अपेक्षाभन्दा बढी दर्षकहरुको उपस्थिति रहेको आयोजकले जनाएका छन् ।

यसअघि पहिलो र दोस्रो चिचिरी, गेन्द्रो दिवस तथा तथा धिमाल संस्कृति प्रदर्शनी दमक र उर्लाबारीमा भएका थिए ।