बिकासमा फड्को मार्दै पथरीशनिश्चरे

  • २० असार २०८१, बुधबार

भूमिप्रसाद पाठक 
मोरङ जिल्लाको उत्तर पूर्वी क्षेत्रमा पूर्व- पश्चिम राजमार्गसँग  जोडिएका साविक पथरी र शनिश्चरे गाविसलाई मिलाएर वि. सं. २०७१ सालमा गठन भएको पालिका हो पथरीशनिश्चरे नगरपालिका ।
स्थानीय तहको पुनः संरचना गर्ने क्रममा साविक हसन्दह गाविसलाई समेत मिलाएर २०६३ फागुन २७ गते हालको पथरीशनिश्चरे नगरपालिका स्थापना भएको हो। यस नगरपालिकाको कूल जनसंख्या ७२ हजार ४ सय ५१ छ । भौगोलिक अवस्थिति अनुसार पथरीशनिश्चरेको अक्षांश दक्षिणमा २६°३६’ र उत्तरमा २७°३९’ छ भने देशान्तर अनुसार पश्चिममा ८७° ३३’ देखि पूर्वमा ८७° ९६’ रहेको छ । यो नगरपालिकामा पूर्व पश्चिम राजमार्ग ४ किलोमिटर  पर्दछ ।

पूर्वमा उर्लाबारी र रतुवामाई नगरपालिका छन् भने पश्चिममा कानेपोखरी गाँउ पालिका छ। यसै गरी, पथरीको उत्तरमा लेटाङ नगरपालिका र दक्षिणमा सुनवर्षी नगरपालिका रहेका छन् । कूल १० वटा वडाहरु रहेको यस नगरपालिकाको जम्मा क्षेत्रफल ७९ दशमलव ८१ बर्ग किलोमिटरमा फैलिएको छ।  पूर्वी सीमाना सुन्जोरा खोला र बक्राहा खोला तथा पश्चिममा डाँस मोरङ्गी खोलाले छुट्याएको  यो नगरका नागरिकको मुख्य पेसा कृर्षि हो । यस नगरपालिकाभित्र बग्ने पथरी खोला मुख्य सिंचाई स्रोत हो भने जालपा भूल्के देवि मन्दिर क्षेत्रको आसपासमा प्रशस्तै सिमसार क्षेत्र रहेको छ। जो पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । यो नगरपालिकामा सरकारी स्तरबाट ३ ओटा स्वास्थ्य चौकीहरु र निजी स्वास्थ अस्पताल छन्।
स्थानीय निर्वाचन सम्पन्न भएयता नगरको समग्र विकासले फड्को मारेको देखिन्छ । त्यसमा पनि प्रथम निर्वाचित जनप्रतिनिधिहरूले ऐन नियम बनाएर स्थानीय तहमा जनताको अधिकारलाई सुनिश्चित गरिएको देखिन्छ। खास गरी, जनप्रतिनिधिहरू आएपछि सिंह दरबारको अधिकारलाई प्रत्याभूति दिलाएको पाईन्छ। यस अघि नगरपालिकामा चाङ्ग लागेर बसेका समस्याहरू क्रमशः जन चाहनाहरू र आकांक्षाहरू सुनेर विकास निर्माणमा लागेको नगरपालिकाको कार्यलयले जनाएको छ।
त्यसमा पनि भौतिक पूर्वाधार विकासमा महत्त्वपूर्ण कामहरू भएको पाइन्छ।यस नगरपालिकाले नगरका सबै टोलीसँग सडक संजालले जोडिएकाले यातायातको सुविधा पुगेको छ। सडक स्तरोन्नती भएको दीर्घकालिन योजनाहरु क्रमशः कार्यान्वयनमा रहेका छन्।
यस पथरीशनिश्चरे नगरपालिकामा स्थानीय तहका लागि निर्वाचन भएको दुई वर्ष यता जनप्रतिनिधिहरू आएपछि जनताबाट अनुभूति दिलाउने विकासका कार्यहरू भएका हुन्।
जनप्रतिनिधिहरू निर्वाचित भए पछि विभिन्न कार्यहरू सम्पन्न भएको नगरपालिकाको कार्यालयले जनाएको हो।
नगरका १० वटै वडाहरूमा क्रमशः यलम्बर चोकमा यलम्बर मूर्ति स्थापना, पञ्चायत मावि पूर्व तर्फ वाल निर्माण, शहिद रत्न बोटानिक पार्क संरक्षाणार्थ घेराबारा, मन्दिर लाईनदेखि बुद्धचोक सम्मको सडक खण्डमा कालोपत्रे, कृर्षि बजार तथा पूर्वाधार निर्माण , प्रशासनिक भवन र अस्पताल मर्मत, नगर अस्पताल भवन निमार्ण तथा सडक निर्माण, हरियाली पार्क निर्माण, शहिद रत्न मार्ग कृर्षि डाँस सडक, डाँस खोला पूर्व ड्रेन निर्माण, रजतजयन्ती सडक कालोपत्रे, कुशल बजार प्रहरी चौकी, दोहाेलु शुक्रबारे मार्ग कालोपत्रे, बुद्धमार्ग कालोपत्रे, वडा नम्बर ८ र ९ को सीमाना बाटो निर्माण, पुलचोकबाट दक्षिण शिरीषे डाँडा हुँदै भातेगौंडा जाने बाटो निर्माण, पथरी खोला मुसरघट्टा पुल निर्माण, आदि भएका हुन्। यसैगरी, तल्लो पिप्ले खोला पुल निर्माण, मंगलबारे अमरहाट बजार कालोपत्रे, दुर्गा मन्दिरदेखि सिंह मावि जाने सडकमा कालोपत्रे, शहिद रत्न मार्ग कालोपत्रे, मनमोहन मार्ग पश्चिम संगम चोक हुँदै वडा नम्बर ९ को सीमाना सम्म कालोपत्रे, पथरीशनिश्चरे बजारभरि कालोपत्रे बाटो, लगायतका विभिन्न विकास योजनाहरु संचालन भएको योजना शाखाले जनाएको छ। वडा नम्बर १,२,९ र१० मा पनि सडक मर्मत सम्भार भएको छ भने वडा नम्बर ४,५ र ६ मा पनि सडक विस्तारको लागि सडक मर्मत गरेर उत्ररोन्ती गरेको पाइन्छ। त्यसमा पनि वडा नम्बर ४ र८ मा सडक बत्ती विस्तार तथा सिसी क्यामेरा जडान गरिएको वडा नं ४ का वडाध्यक्ष लाेकनाथ न्यौपानेले बताए। वडा नम्बर २ को कसेनी पुल निर्माण,वडा नम्बर ५ र ६ को वडा कार्यालय पार्टेसन गरिएको छ भने हंसराजको घर हुँदै वन तर्फ जाने सडकमा स्तरोन्नति भएको छ। यस्तै, वडा नम्बर १ यलम्बर चोकमा किराँत समुदायको प्रथम राजा यलम्बरको शालिक राखिएको छ। कृर्षि बजार पूर्वाधार निर्माण र व्यवस्थापन वडा नं १ ले काम गरेको जनताले अनुभुति गरेका छन्। नगरपालिकाको प्रशासनिक भवन, नगरअस्पताल मर्मतसम्भार, वडा नम्बर ५ को कार्यालयमा बिद्युतीय वायरिङ गरिएको छ।दुर्गा पाञ्चायन देखि संगम चोक हुँदै फायर लाईनसम्म ३ नं वडाको कार्यलयले सडक स्तरोन्नती गरेको पाइन्छ। त्यस्तै गरि, पञ्चायत माविको वाल र स्याव निर्माण जस्ता विभिन्न कार्यहरूले तीव्रता पाएको छ।
नेपालमा संघीयता कार्यान्वयन भएसँगै विकास निर्माणले झनै छलाङ मारेको देखिन्छ।
यता, सर्व साधारण जनताले जनप्रतिनिधिहरूले विकास निर्माण सम्बन्धी मिश्रित प्रतिक्रिया दिएका छन्।
यसै सन्दर्भमा वडा नम्बर १ का तुलसी बस्नेतले जनप्रतिनिधिहरू जुन हिसावले खटिनुपर्ने हो, सो अनुरूप नदेखिएको गुनासो पोखे । उनले भित्री बाटाहरू अस्तव्यस्त रहेको भन्दै भएका विकास निर्माण कार्यहरूको पनि सही सदुपयोग नभएको बताए।
त्यसै, वडा नम्बर ३ का युवा दीपक ढुंगानाले जनगुनासो अनुसार जनप्रतिनिधिहरूले जनताका ईच्छा आकांक्षाहरू सुनेर कामहरु गर्न नसकेको हो कि भनेर संकेत गरे।
त्यस्तै, वडा नम्बर- ७ का स्थानीय टीका दाहालले राम्रो टिम नै गएको महशुस गरेको हो । तर, उनीहरूबाट आशा गरे जति कामहरू हुन नसकेको औंल्याए। उनले सडक विस्तार र निर्माण, शिक्षामा अझै सुधार गर्नु पर्ने , विकास निर्माणमा निक्कै नै गर्नु पर्ने सुझाए।उनले अगाडि भने -‘ शिक्षामा अझै सुधार गर्नु पर्ने, दरवन्दी मिलान गर्नु पर्ने, जस्ता विभिन्न कार्यहरू बढाउनु उपर्युक्त देखिन्छ।’
यता , वडा नम्बर २ का वयोवृद्ध छविलाल अधिकारीले मेयर, उपमेयर र वडाध्यक्षहरूले भनाइमा घर घरमा सिंह दरबार भने पनि भनाइ र गराईमा कता कता नमिलेको हो की भन्दै अहिलेका जनप्रतिनिधिहरूले सानातिना कामहरू गर्न पनि नसकेको र कागजी झन्झट दिएको भनेर गुनासो पोखे।
निष्कर्षमा , यसरी विकास निर्माण कार्यहरूको कुरा गर्दा संघीयता लागु भए यता स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि निक्कै विकास निर्माण कार्यहरूको तीव्रता र गतिशीलता पाएको छ।विकास भनेको कुनै जादुको छडी होइन, एकैचोटी विकासको बेलबाढी आउने होईन , जनप्रतिनिधिहरूले पनि यो नगरपालिकाको विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहोका छन्। हाल पहिले भन्दा विकासले धेरै गति लिएको छ। कतिपय वडा हरूमा तीव्रता साथ विकासका कार्यहरू भैरहेको पाईएको छ । नगरबासीले केहिी विकासको तिब्रतालाई अनुभुति गरेको पाइन्छ। विरोधका लागि विरोध मात्रै भन्दा पनि विकास निर्माण कार्यहरूको हामीले सकरात्मक बाटोबाट हिँडेर अघि बढ्नु समग्र विकासको खाका देखिएको नगरको विकासमा जनताको सहभागितालाई आत्मासात गर्न सकेको खण्डमा यस नगरपालिकाको विकासले अझै फड्को मारेको देखिन्थ्यो।