गुरु बराल बने एमाले उपाध्यक्ष, शेरधनलाई कोशी इन्चार्जको जिम्मेवारी

  • १८ श्रावण २०८१, शुक्रबार

नेकपा एमालेको स्थायी कमिटी बैठकले बाग्मती प्रदेश इन्चार्ज रहेका गुरु बराललाई पार्टी उपाध्यक्ष र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शेरधन राईलाई कोशी प्रदेश इन्चार्ज बनाएको छ ।

बैठकले सातै प्रदेशका प्रदेश इन्चार्जहरूले जिम्मेवारी समेत हेरफेर गरेको छ । बैठकले एकीकृत समाजवादीबाट एमाले फर्किएका मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनित गरेको छ । श्रेष्ठलाई मधेस प्रदेश इन्चार्ज समेत बनाइएको छ ।मधेस प्रदेश इन्चार्ज रहेका युवा नेता योगेश भट्टराई संसदीय विभाग प्रमुख भएका छन् ।

यसैगरी सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । मनोनित केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट जितेन्द्र देव (सुनसरी), इन्द्र भण्डारी (झापा) र आशारत्न जवेगु (पाँचथर) छन् । सुनसरीका जितेन्द्र केही समयअघि काँग्रेस छाडेर एमाले प्रवेश गरेका थिए  ।