घरदैलोमा पुगेर मतदाताहरुसँग भेटघाट गर्दै सांसद डा. सुनिल शर्मा

  • १० भाद्र २०८१, सोमबार

पथरीशनिश्चरे, समाचारदाता । संघीय संसदका सांसद डा सुनिल शर्माले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कार्यक्रम संचालन अनुमतिको लागि अन्तिम चरणमा पुगेको बताएका छन्।
आज सोमबार मोरङको पथरी शनिश्चरे -१ को सांसद डा. शर्माको सम्मानका लागि पथरी- डायिना सिटी टोल विकास समितिद्धारा आयोजित एक संक्षिप्त कार्यक्रममा शर्माले सो कुरा बताएका हुन् ।
संसदबाट तलव भत्ता केहि नलिने घोषणा गरेका सांसद् शर्माले आफूले चुनावका समयमा गरेका विकास निर्माण सम्बन्धि प्रतिबद्धताहरू पूरा गर्न लागी परेको भन्दै आफ्नो कार्यकालभरी भ्रष्टाचार नगर्ने र आफूलाई जिताउने आममतदाताको शीर सधैँ उच्च राख्ने प्रतिबद्धता जनाएका थिए।
सो पथरी डायनीया सडक खण्ड अन्तर्गत पथरी शनिश्चरे -१ को मन्दिर लाईनदेखि बुद्ध चोकसम्मको करिब १ किलोमिटर लामो सडकमा गत आर्थिक वर्ष २०८०/०८१ मा कालोपत्रे गर्न २ करोड ६० लाख रुपैयाँ बराबरको वजेट विनियोजन गराई बिशेष भूमिका निर्वाह गर्नु भएकोमा वडा नम्बर -१ का वडा अध्यक्ष भीम कुमार राई र टोल विकास समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरेले धन्यवाद सहित आभार प्रकट गर्नुभएको थियो।
सोहि क्रममा वडा अध्यक्ष राईले नगरकै बढि जनसंख्या रहेको आफ्नो वडामा विभिन्न सडकहरू भत्किएर जिर्ण अवस्थामा रहेकाले आगामी दिनहरुमा पनि संघीय सरकारबाट बजेट निकासाका लागि पहल गरिदिन आग्रह गरेका थिए।
डा . सुनिल शर्मालाई अबिर र खादा ओढाएर स्वागत सम्मान प्रकट गरिएको सो कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश खड्का, वडा नम्बर १ का वडा सदस्य सुरेश कुमार कार्की, पथरी डायनीया सडक टोल विकास समिति उपाध्यक्ष पोषराज काफ्ले , समाजसेवी लोकनाथ खरेल, लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।