सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ बेलबारी गोल्डकपको क्वाटरफाइनल

  • २ कार्तिक २०८१, शुक्रबार

उद्घाटन खेलमा भारतको कन्चनजंघा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बेलबारी ११ को लक्ष्मी खेलमैदानमा भएको उद्घाटन खेलको नवौं मिनेटमा कन्चनजंघा फुटबल क्लब सिलिगुडीका प्रनेश प्रधानले वान भर्सेज वानमा उत्कृष्ट गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । झापाका गोल रक्षक सन्दीप लिम्बू गोल पोष्ट छोडेर अगाडि बढेको मौकालाई सदुपयोग गर्दै पाहुना टोलीले झापा बिरुद्ध सुरुवाती गोल गरेको थियो ।
खेलको ३५ ओैं मिनेटमा झापा खेलमा फर्क्यो ।आशिष चापागाईंले पोष्टमा प्रहार गरेको बल रिवाउन्स भएर मैदानमा फर्किएको थियो । उक्त बललाई झापाका निरज कार्कीले कुनै गल्ती नगरि जाली चुमाएका थिए ।

मध्यान्तर अघिसम्म १–१ गोलको बराबरीमा रहेको खेलमा झापाले ५३ ओैं मिनेटमा अर्को १ गोल थप्यो । झापाका अभिषेक गुरुङले आशिष चापागाईंको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरे । कन्चनजंघाका खेलाडीहरू सम्हालिन नपाउँदै झापा ११ ले तेस्रो गोल ठोक्यो । ५९ ओैं मिनेटमा झापाका निरज कार्कीको पासमा उत्सव राईले गोल गरे । खेलको ७० ओैं मिनेटमा उत्सव राईले अर्को १ गोल थपे । सिलिगुडीका गोल रक्षक प्रनुव लिम्बु बल नियन्त्रण गर्न अघि बढेको समयमा उत्सवले सुन्दर गोल गरे । सुरुवाती गोल खाएर निरास बनेको झापाको गोल गर्ने क्रम रोकिएन ।खेलको ७६ ओैं मिनेट भविन बोहोराको पासमा निकेश श्रेष्ठले टिमका लागि गोल गरे । ५–१ गोलले स्तब्ध भएको पाहुना टोली अन्तत पहिलो चरण बाटै खेलबाट बाहिरिएको छ ।
उद्घाटन खेलमा झापाको तर्फबाट २ गोल गर्ने उत्सव राई म्यान अफ द म्याच घोषित भए । उत्सवलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले नगद ५ हजार सहित ट्रफि प्रदान गरे । उद्घाटन खेलको म्यान अफ द म्याचको ट्रफि विवेक गुरुङले सौजन्य गरेका हुन् ।
शनिवार आयोजक एलएक्स सिटी फुटबल क्लब बेलबारी ११ र चित्लाङ फुटबल क्लब काठमाडौं बिच खेल हुनेछ ।
यस अघि एक भब्य समारोहका बिच सातौं संस्करणको गोल्डकप फुटबल प्रतियोगिता कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले गरेका थिए । क्लबका अध्यक्ष विक्रम राईको सभापतित्वमा भएको उद्घाटन समारोहमा एन्फाका सदस्य दीपेन्द्र धिमाल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।