बेलबारी गाेल्डकपबाट बाहिरियो डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब

  • ६ कार्तिक २०८१, मंगलवार

डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाईज ललितपुर बेलबारी गाेल्डकपकाे उपाधि यात्राबाट बाहिरिएको छ ।

सुरुवाती गाेलकाे अग्रता जाेगाउन नसक्दा बुटवल लुम्बिनी फुटबल क्लबसँग २-१ गाेलले पराजित हुँदै ब्रिगेड उपाधि यात्राबाट बाहिरिएको हाे । आजकाे जितसँगै बेलबारी गाेल्डकपमा पहिलोपटक सहभागी भएको बुटवल लुम्बिनी सेमिफाइनलमा प्रवेश गरेको छ ।

बेलबारी ११ काे लक्ष्मी खेलमैदानमा मङ्गलबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबका सुजन ढङ्गाेलले २० ओैं मिनेटमा गाेल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

कप्तान एन्जल महर्जनको पासमा सुजनले गाेल गरेका हुन् ।

चार जना विदेशी खेलाडी लिएर मैदान उत्रिएको बुटवल लुम्बिनी फुटबल क्लबले मध्यान्तर अघिसम्म बल हाेल्ड गरेपनि स्काेर गर्न सकेन ।बिग्रेडका रक्षा पङ्क्तिका खेलाडीहरू दिवाकर चाैधरी ,काेमल खवास र पदम भट्टराईले पटकपटक टिमलाई गाेल खानबाट जाेगाए ।

खेलकाे ५१ ओैं मिनेटमा बुटवल लुम्बिनीका खेलाडी एरिक बिष्टलाई डिबक्स भित्र ट्याकल गरेपछि बुटवल लुम्बिनी फुटबल क्लबले पेनाल्टी प्रहारकाे अबसर पायाे । एरिक बिष्टले प्रहार गरेको पेनाल्टी प्रहार गाेलमा परिणत भएपछि खेल १-१ गाेलकाे बराबरीमा पुग्याे ।

६२ ओैं मिनेटमा बुटवल लुम्बिनीका ग्लाेरीले उत्कृष्ट गाेल गरे ।मैदानकाे मध्यभागबाट रिचर्डले दिएकाे पासलाई ग्लाेरीले जालि चुमाएका हुन् ।

मङ्गलबारकाे खेलमा बुटवल लुम्बिनी फुटबल क्लबका एरिक बिष्ट म्यान अफ द म्याच घाेषित भए । उनलाई काेशी प्रदेशका सांसद मानबहादुर लिम्बूले नगद ५ हजार र ट्रफि प्रदान गरे । सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत बुधबार अन्तिम क्वाटरफाइनल खेल सलहेस फुटबल क्लब सिराहा र भारतको दलसिंहपारा फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेताले ८ लाख नगद र गोल्ड कप र उप विजेताले ५ लाख नगद र ट्रफि सहित प्रमाण पत्र र मेडल पाउनेछन् ।