सुकुना क्याम्पसले प्राप्त गर्याे दोस्रो चरणको क्युएए प्रमाणपत्र

  • १० कार्तिक २०८१, शनिबार

माेरङकाे सुन्दरहरैँचा नगरपालिका १२ स्थित पूर्वक्षेत्रमा प्रतिष्ठित सुकुना बहुमुखी क्याम्पसले दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रत्यायान (क्युएए) प्राप्त गर्न सफल भएको छ।विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सभाकक्षमा भएको एक कार्यक्रममा सुकुना क्याम्पस र ग्लोवल इन्टरनेसनल कलेजलाई क्युएए अवार्ड प्रदान गरिएको सुकुना क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए ।

प्रमाणपत्र वितरण कार्यक्रममा आयोगकी क्युएए डाइरेक्टर प्रा.डा. रेजिना मास्केले स्वअध्ययन भ्रमणको अनुभव र दुबै क्याम्पसका प्रतिवेदनको साराशं प्रस्तुत गरेकी थिइन् । समारोहमा त्रिभुवन विश्वविद्यालयका क्युएए डाइरेक्टर डा. प्रेम थापा र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुब गौतमले दुबै क्याम्पसहरूलाई बधाई ज्ञापन गरेका थिए । सुकुना क्याम्पसको स्वअध्ययन टोलिका प्रमुख एवम् त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँले सुकुना क्याम्पसमा पहिलो पटक तीन दिन र दोस्रो पटक पाँचदिन स्थलगत अध्ययन भ्रमण गर्दाका अनुभवहरू प्रस्तुत गर्दै क्याम्पसले गुणस्तर कायम गर्नका लागि गरेका प्रयासबाट आफू पूर्ण सन्तुष्ट भएको र सबैले सुकुनाको भ्रमण गरि अनुभव लिन सुझाव प्रस्तुत गरेका थिए । यदि यसरी नै प्रयास गर्ने हो भने सुकुना छिट्टै डिम्ड युनिभर्सिटि हुनेमा विश्वास प्रकट गरे ।

त्यसैगरै आफूले धेरै पटक सुकुना क्याम्पसको भ्रमण गरेको र भ्रमणका क्रममा सुकुनाले तिब्र विकास गरेको भन्दै प्रा. डा. मनप्रसाद वाग्लेले बधाई ज्ञापन गरेका थिए । प्रतिवद्धता व्यक्त गर्ने क्रममा सुकुना क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले आगामि दिनमा क्याम्पसले अझै नवप्रवर्तन गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने, गुणस्तरमा बढोत्तरी गर्ने, अटोनोमिका कार्यक्रम सञ्चालन गर्ने बताउँदै क्याम्पसको छोट‍ाे परिचय प्रस्तुत गरेका थिए ।

समारोहको सभापतिका रुपमा रहेका अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले सुकुना क्याम्पसका सबै गतिविधिबाट आयोग सन्तुष्ट भएकोमा क्याम्पसलाई बधाई दिँदै अरु क्याम्पसहरू पनि सुकुना जस्तै हुनुपर्नेमा जोड दिएका थिए । आयोगका अध्यक्ष लगायत विशिष्ट अतिथिहरूले क्याम्पसलाई दोस्रो चरणको क्युएए को प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।