सातौं बेलबारी नगर मेयर कप फुटबल प्रतियोगिता शुरु
- ८ माघ २०८१, मंगलवार
बेलबारी नगरपालिकाको सहयोगमा नगर खेलकुद बिकास समितिद्वारा आयोजित सातौं बेलबारी नगर मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
माघ ८ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मंगलबार उद्घाटन भएको हो । बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राइले जोडी परेवा उडाएर प्रतियोगिता उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बेलबारीका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षहरुको उपस्थिति थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकामा नगरप्रमुख दिलप्रसाद राइले नगर क्षेत्रमा खेलाडी उत्पादन गर्ने उदेश्यले लिग चरणको बेलबारी मेयर कप आयोजना गरिँदै आएको बताए ।
बेलबारीका ११ वटै वडाका ११ वटै टीमहरुको सहभागिता रहेकोे प्रतियोगिताको उद्घाटन खेल बेलबारी १० स्थित भाउन्ने खेल मैदानमा भएको छ । मंगलबार पहिलो खेल बेलबारी वडा नम्बर ३ र वडा नम्बर १० बीच भएको थियो ।
प्रतियोगिताका खेलहरु बेलबारी १० स्थित भाउन्ने खेल मैदान, बेलबारी ८ स्थित एम्ब्रियो खेल मैदान र टुक्रे खेल मैदानमा हुनेछन् ।
कूल १३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको बिजेता हुने टीमले १ लाख ११ हजार सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यसैगरी दोस्रो हुने टीमलाइ ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ । प्रतियोगितामा सहभागी सबै टीमलाई १८ सेट जर्सी र ३ वटा बल उपलब्ध गराइनेछ । बिधागत पुरस्कारहरुको पनि ब्यबस्था गरिएको आयोजक बेलबारी नगर खेलकुद बिकास समितिले जानकारी दिएको छ ।
बेलबारी नगरपालिका क्षेत्रमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने, बेलबारीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने र खेलको माध्यमबाट भाइचारा बिकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् ।
बेलबारी वडा नम्बर ३ र वडा नम्बर १० बीच भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ बिजयी भएको छ । उद्घाटन खेलमा पहिलो हापको अन्त्यतिर वडा नम्बर ३ का निकित मगरले गोल गर्दै टीमलाइ १-० को अबस्थामा पुर्याएका थिए । पहिलो हाफ र दोस्रो हाफमा पनि कुनै टीमले थप गोल नगर्दा डिफेन्डिङ च्याम्पियन बेलबारी वडा नम्बर १० लाई पराजित गर्दै बेलबारी ३ बिजयी भयो जितसँगै वडा नम्बर ३ ले तीन अंक प्राप्त गरेको छ । पहिलो खेलको म्यान अफ द म्याच एकमात्र गोलकर्ता बेलबारी ३ का निकित मगर घोषित भए । बुधबार दोस्रो दिनको पहिलो खेल एम्बियो खेल मैदानमा वडा नम्बर ९ र वडा नम्बर ६ बिच हुने र दोस्रो खेल वडा नम्बर २ र ११ बीच हुने आयोजकले जानकारी दिएका छन् ।





