राजारानीमा धिमाल समुदायको जात्री पर्व सुरु
- ३ बैशाख २०८२, बुधबार
मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित ‘सुनाखरीको राजधानी’ का रूपमा परिचित राजारानी क्षेत्रमा प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र जैविक विविधताले भरिपूर्ण हरेक वर्ष वैशाख २ गतेदेखि हुने धिमाल समुदायको ऐतिहासिक जात्री पर्व सुरु भएको छ।
राजारानीमा रहेको ग्रामथानमा विशेष पूजाआजासहित जात्री पर्व विधिपूर्वक सुरु गरिएको हो। यो पर्व मोरङ, झापा र सुनसरीका विभिन्न धिमाल ग्रामहरूमा क्रमशः हुँदै असार २ गते उर्लाबारीमा विधिवत रूपमा सम्पन्न हुने परम्परा रहिआएको छ।
राजारानिमा यसपटक १० हजारभन्दा बढी श्रद्धालु, पर्यटक तथा संस्कृतिप्रेमीहरूको सहभागिता देखिएको छ। उद्घाटन समारोहमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडा नं. १ का अध्यक्ष विष्णु मगर लगायत स्थानीय जनप्रतिनिधि र अगुवाहरूको उपस्थिति थियो।
सांस्कृतिक कार्यक्रममा लिम्बू समुदायको पालम, मगर समुदायको हुर्आ नाच र धिमाल समुदायको पारम्परिक बाजा–गाजासहितको प्रस्तुति गरिएको थियो जसले पर्वलाई अझ रंगीन बनायो।
यस पर्वको महत्त्व केवल धार्मिक वा सांस्कृतिक मात्र होइन, जैविक विविधता र प्राकृतिक सौन्दर्यमा पनि उत्तिकै गहिरो छ। राजारानी क्षेत्रमा ४८ प्रजातिका सुनाखरी फुलहरू पाइन्छन्। कमल र आकर्षक वनस्पतिहरूले पर्यटकको मन लोभ्याउँछ। यहाँ थलचर र जलचर दुबै प्रकारका जीवजन्तु पनि उल्लेखनीय छन जसले राजारानीलाई जैविक दृष्टिले समेत समृद्ध बनाएको छ।
मेलामा सहभागी हुने पैदल यात्रुहरूका लागि शान्ति सामुदायिक पुस्तकालय (लेटाङ पुस्तकालय) र लेटाङ जेसिजको सहकार्यमा १२ वर्षदेखि निःशुल्क पिउने पानी वितरण गर्ने परम्परा यसपालि पनि विभिन्न दाताहरूको सहयोगमा निरन्तरता दिइएको छ।
तर, यति महत्वपूर्ण धार्मिक र पर्यटकीय स्थलसम्म पुग्ने सडक अझै पनि जीर्ण रहेकोमा स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा पर्वमा सहभागी श्रद्धालुहरूले चासो व्यक्त गरेका छन्। उनीहरूले सडक निर्माण तथा स्तरोन्नतिको लागि सरकारसमक्ष चाँडो पहल गर्न आग्रह गरेका छन्।
धार्मिक, सांस्कृतिक, जैविक र पर्यटन पक्षमा अत्यन्त महत्वपूर्ण रहेको राजारानी क्षेत्र पूर्वी नेपालको साझा गौरव हो। यस जात्री पर्वले ‘सुनाखरीको राजधानी’को पहिचानलाई अझ प्रगाढ बनाउँदै, आस्थाको केन्द्र र पर्यटन प्रवर्द्धनको सशक्त माध्यमको रूपमा विकास हुँदै गएको छ।





