स्व. रमेश लामा स्मृति नकआउट फुटबलको उद्घाटन खेलमा केराबारी बिजयी
- २५ जेष्ठ २०८२, शनिबार
बेलबारीमा आयोजित प्रथम स्व. रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा इनरुवालाइ पराजित गर्दै केराबारी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुवैतर्फ गोलरहित बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा केराबारीका खेलाडीले सबै गोल गरेपनि इनरुवाका एक खेलाडीले प्रहार गरेको गोल केराबारीका किपर सन्दिप लिम्बूले रोकेपछि इनरुवाले हार ब्यहोरेको थियो ।
उद्घाटन खेलको म्यान अफ द म्याच केराबारीका गोल किपर सन्दिप लिम्बू घोषित भए । प्रतियोगिताको उद्घाटनमा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगर, बेलबारीको विभिन्न वडाध्यक्षहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
आइतबार हुने दोस्रो खेल धनकुटाको डाँडाबजार फुटबल क्लब र रेड स्टार क्लब बिर्तामोड बिच हुनेछ ।
बेलबारी फुटबल क्लबको आयोजनामा जेष्ठ २४ गतेदेखि बेलबारी नगरपालिका वडा नं. ३ स्थित बेलबारी खेलमैदानमा जारी प्रतियोगितामा आठ टीम सहभागी छन् ।
प्रतियोगितामा आयोजक टिम बेलबारी फुटबल क्लब ‘ए’, इनरुवा फुटबल क्लब, योङ्ग ब्रदर्स क्लब इटहरी, केराबारी फुटबल क्लब, डाँडाबजार फुटबल क्लब, रेड स्टार फुटबल क्लब बिर्तामोड , आयोजक टिम बेलबारी फुटबल क्लब ‘बि’ र आर.आई.एफ।सी काठमाडौँ गरी जम्मा ८ टिम सहभागी छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २ हजार २ सय २२ रुपैया र दोस्रो हुनेले १ लाख १ हजार १ सय ११ रुपैया नगद प्राप्त गर्नेछन । बेलबारी नगरपालिकाको सहयोगमा हुने प्रतियोगिताका लागि स्वर्गीय रमेश तामाङको परिवारले २ लाख रुपैयाँ सहयोग गरेको छ ।
बिक्रम सम्बत २००५ सालमा खोटाङको धारापानीमा जन्म भई २०३५ सालदेखि बेलबारीमा बसोबास रहेका रमेशकुमार तामाङको २०७८ सालमा निधन भएको थियो । मूलतः मातृभाषाका लेखक तथा स्रष्टाको रूपमा परिचित तामाङका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनी कला संस्कृति र राजनीतिमा पनि सक्रिय थिए ।







