दुर्लभ कछुवा संरक्षणका लागि बेलबारी नगरपालिका र प्रदेश सरकारको तदरुकता
- ११ चैत्र २०८१, मंगलवार
पूर्वी नेपालकै जैविक तथा प्राकृतिक विविधताको धरोहर मानिने बेतना सिमसारको विकास, प्रवद्र्धन तथा त्यहाँ रहेका विभिन्न प्रजातिका दुर्लभ कछुवा संरक्षणका लागि बेलबारी नगरपालिका र कोशी प्रदेश सरकारले तदरुकता देखाएका छन् ।
बेतना सिमसारको नयाँ समितिले बेलबारी नगरपालिकाको सहयोगमा सिमसार पोखरी वरिपरी रेलिङ निर्माण गराइरहेको छ । १० लाखको लागतमा भईरहेको रेलिङको काममा ६० प्रतिशत बेलबारी नगरपालिका र ४० प्रतिशत सिमसारको लगानी रहेको छ । त्यसैगरी आन्तरिक श्रोतबाट सिमसार क्षेत्रको बिकाश तथा सं्क्षण र प्रबर्धनका लागिविभिन्न काम पनि भइरहेको बेतना सिमसार सामुदायिक वनका अध्यक्ष शम्भु भट्टराईले बताए ।
बेलबारी नगरपालिकाको पहलमा यस वर्ष कोशी प्रदेश सरकारले कछुवा संरक्षण तथा पैदल यात्राका लागी ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । बेतना सिमसारका अध्यक्ष भट्टराईका अनुसार सो योजनाका लागि प्रविधिक निरिक्षणको काम सम्पन्न भएको छ भने सम्झौताको काम प्रकृयागत चरणमा छ । सो योजना अनुसार बेतना सिमसार क्षेत्रमा कछुवा संरक्षणका लागि ३ हेक्टर जमिन घेराबारा, ड्याम निर्माण, प्रजनन्का लागि बालुवाको ढिस्को निर्माण तथा घाम ताप्ने स्थल निर्माण हुनेछ । बेतना सिमसारको पूर्व तर्फको पोखरीको उत्तरी क्षेत्रमा कछुवा संरक्षण स्थल रहने छ । सोही बजेटबाट बेतना सिसौली पैदल मार्गको निर्माण तथा स्तरोन्नति समेत गरिने बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले जानकारी दिए ।
नेपालमा पाइने १२ प्रजाति मध्ये मयुरपंखी, सुनकछुवा र ढकनी कछुवा सहित ३ प्रजाति रहेको पुष्ठी भएपनि कछुवा बिज्ञ डा. के. आर. खम्बुले बेतना सिमसारमा ६ प्रजातिका कछुवा रहेको बताएका छन् । सिमसार क्षेत्रमा बिभिन्न प्रजातिका ३ सय भन्दा बढी कछुवा रहेको अनुमान गरिएको बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहका पूर्व अध्यक्ष डम्बर बस्नेतको भनाइ छ । त्यसमध्ये विश्वमै दुर्लभ मयुरपंखी कछुवा समेत बेतनामा छन् । कोशी टपु तथा नेपालका विभिन्न क्षेत्रबाट मात्र होईन साइवेरीयाबाट समेत विभिन्न प्रजातिका चराहरु बेतनामा आउने गरेका बिज्ञहरु बताउँछन् । चराचुरुङ्गी तथा जिवजन्तुको बासस्थानका रुपमा परिचित बेतनामा चराचुरुङ्गीको अध्ययन तथा जैविक अवलोकनका लागि देश विदेशबाट पर्यटकहरु आउने गरेका छन् ।
२ सय ६० बिगाह क्षेत्रफल ओगटेको बेतना सिमसारमा केही बर्षयता बन्यजन्तु उद्धार तथा संरक्षणस्थल समेत बन्दै गएको छ । सिमसार क्षेत्रमा अजिंगर, चित्तल, बाँदर, ढेडु, हुचिल, लाटकोसेरो, बन बिरालो, पानी ओत र खरायो खोरमा राखेर संरक्षण गरिएका छन् ।बेतनामा हाल विभिन्न स्थानबाट उद्दार गरी हाल ६ वटा चित्तल, २ वटा गिद्ध, ३ वटा अजिङ्गर, ४ वटा बाँदर, २ वटा लाटोकोसेरो, ९ वटा राजहाँस, १२ वटा फुल हाँस र २ दर्जन बढि मुसासमेतलाई संरक्षण गरी पालनपोषण गरिंदै आएको छ ।बेतना पुग्ने पर्यटकका लागि त्यी जनावरहरु आकर्षणको केन्द्र बन्ने गरेका छन् ।
रैथाने र बिकाशे माछाहरुले नै सिमसार पोखरी ढाकिएको देखिन्छ । रैथाने जातका माछाहरु मार्न नपाइने भएपनि बिकाशे जातका माछा प्रसस्त भएकोले समय समयमा माछा बिक्री गरी आम्दानी भइरहेको बस्नेत बताउँछन् । मत्स्य बिकाश केन्द्रले बिगत दुइ बर्षदेखि बार्षिक रुपमा विकाशे माछाहरु सिमसार पोखरीमा छाड्दै आएको छ । त्यस बाहेक घुम्न आउने पर्यटकले समेत माछाका भुरा छाड्ने गरेकोले सिमसार पोखरीमा प्रसस्तै माछा छन् तर त्यहाँ कति माछा छन् भन्ने यकिन छैन । त्यसैगरी सिमसार क्षेत्रमा रहेका कछुवाहरुको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा बेलबारी नगरापालिकासँगको सहकार्यमा विज्ञ टालीले अध्यायन गरेको सिमसारका सुजित बस्नेत बस्तेतले जनकारी दिए ।
बेतना सिमसारको अर्को आकर्षण हो ८ फुट उचाई र ६ फुट लम्बाई भएको कमिलाको मुर्ति । करिब डेढ लाख लागतमा श्रम र एकताको प्रतीकको रुपमा केहि बर्ष अघि बनाइएको कमिला सिमसार क्षेत्रको केन्द्रमा रहेको छ, जसले सिमसारको आकर्षण मात्र थपेको छैन, पर्यटक समेत आकर्षित गर्ने गरेको छ ।
बेतबाँस प्रसस्त रहेकोले त्यसको नामकै आधारमा बेतना नामाकरण गरिएको यो सम्पदा प्राकृतिक दृष्टिले मात्र होइन, पुरातात्विक दृष्टिले समेत अहम महत्वको छ । पुरातत्व विभागले केही बर्ष बेतना सिमसार क्षेत्रमा स्थलगत अन्वेषण तथा उत्खनन् गर्दा यहाँ भेटिएका माटाका भाँडा, ढुंगा र सिलौटा आदिको अध्ययनका आधारमा २५ सय बर्ष पहिले यहाँ मानब बस्ती रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको थियो । विभागले सिमसारको दुइ सय मिटर आसपासका तीन ठाउँमा उत्खनन् गरेको थियो । फेला परेका ती भाँडावर्तनका अवशेष नव पाषाणकालीन भएको पुरातत्व विभागले जनाएको छ ।
बेलबारी बजारबाट २ किलोमिटर पूर्वमा अबस्थित बेतना सिमसार पूर्वी नेपालका मात्र नभई नेपालभरका र बिदेशी पर्यटकहरुको समेत आकर्षणको केन्द्र बनेको छ । कुल १ सय ७४ दशमलब ९१ हेक्टर क्षेत्रफल ओगटेको बेतना सिमसार क्षेत्र पर्यटकको आकर्षक गन्तब्य मात्र होइन, बन्यजन्तु र साना ठुला जीव अनि जंगली जनावरहरुको बासस्थानको केन्द्र समेत बनेको छ ।
खासगरी हिउँदयाममा दैनिक सरदर साढे ५ सय भन्दा बढी पर्यटक आउने बेतना सिमसारमा हाल सेक्युरिटी गार्ड सहित दर्जनभन्दा बढी कर्मचारी छन् । तारबेराले घेरिएको सिमसारमा चौबिसै घण्टा सेक्युरिटी बस्छन् । दुइवटा ताल रहेको पुर्व पश्चिम लोकमर्ग किनारमै अबस्थित सिमसारको पूर्वपट्टीको तालमा बोटिङ संचालन हुँदै आएको भएपनि पश्चिमपट्टीको ताल पानीझारले झाडीमय भएका कारण प्रयोजन बिहिन जस्तै छ । तर छुट्टै पिकनिक स्पोट र मनोरम दृष्यहरुको आकर्षणले गर्दा बिशेष अवसर, चाडबाड र बिदाका दिनहरुमा पिकनिक खान आउनेहरुको घुइंचो हुने गरेको छ ।









