लाहा खेती प्रवर्द्धन गर्दै पथरीशनिश्चरेका सामुदायिक वनहरू
- १५ असार २०८२, आईतवार
राष्ट्रिय वृक्षारोपण दिवस तथा लाहा खेती प्रवर्द्धन अभियान अन्तर्गत पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले एक विशेष कार्यक्रम गरी लाहा खेतीको सुरुवात गरेको छ।
शनिबार सम्पन्न कार्यक्रममा समूहले वनको खण्ड- १ मा लाहा उत्पादनका लागि आवश्यक ‘होस्ट प्लान्ट’ सेमिया लत्ता र कुसुमका विरुवा रोपेका छन्।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय मानबहादुर लिम्बुले सामुदायिक वनले आर्थिक आत्मनिर्भरता हासिल गर्न नयाँ सम्भावनाको ढोका खोल्ने गरी लाहा खेतीको थालनी गर्नु सराहनीय कदम भएको बताए। “यो वन अब केवल हरियालीको स्रोत होइन, आय आर्जनको केन्द्र बन्न सक्छ,” उनले भने।
विशिष्ट अतिथि प्रदेशसभा सदस्य माननीय गिता तिम्सिनाले सामुदायिक वनले परम्परागत ढाँचाबाट बाहिर निस्कँदै लाहा खेतीमार्फत आर्थिक रुपान्तरणको अभियान सुरु गरेको उल्लेख गरिन्। “वन उपभोक्ताहरुको समुचित व्यवस्थापन र श्रमले यहाँबाट राम्रो आम्दानी गर्न सकिन्छ,” उनले भनिन्।
डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाले कार्यालयको सहकार्यमा यस वर्ष ३ हेक्टर क्षेत्रफलमा लाहा खेतीको होस्ट प्लान्ट रोपिएको जानकारी दिए। “२ हेक्टरमा पशुपति र १ हेक्टरमा महिला जागृति सामुदायिक वनमा विरुवा रोपिएको छ,” उनले भने, “लाहा खेती दीर्घकालीन आम्दानीको राम्रो विकल्प हो।”
लाहा विज्ञ डम्बर विश्वकर्माले लाहाको वैज्ञानिक पक्ष प्रष्ट पार्दै यसको व्यावसायिक सम्भावनाबारे प्रकाश पारे। “लाहा उत्पादनका लागि सेमिया लत्ता (Semia latta) र कुसुम (Schleichera oleosa) जस्ता रूखहरूमा लाहाको कीरा हुर्काइन्छ,” उनले भने, “यो प्रक्रिया जैविक छ र वातावरणमैत्री पनि।”
वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडाले लाहा खेतीले युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने उल्लेख गरे। “विदेश जानुपर्ने बाध्यता हटाउने बाटो यही खेतीले देखाउँछ,” उनले भने।
सामुदायिक वन उपभोक्ता महासंघ मोरङकी सचिव सिता चौहान रायमाझीले लाहा खेतीले महिलाहरूको आत्मनिर्भरता र सशक्तिकरणमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा उपाध्यक्ष बालकुमार ठाडा मगरले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष पुष्पराज शाहीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो। विवेक न्यौपानेले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा नगरभरीका ११ वटा सामुदायिक वन, विभिन्न विद्यालयका प्रतिनिधि तथा उपभोक्ताहरुको उपस्थिति रहेको थियो।
लाहा खेती के हो?
लाहा (Lac) एउटा प्राकृतिक गोंद हो, जुन लाहाको कीराले सेमिया लत्ता वा कुसुम जस्ता रूखमा जम्मा गर्छ। कीराले बनाएको राल सङ्कलन गरी प्रशोधनपछि गोंदको रूपमा प्रयोग गरिन्छ। यसबाट पॉलिस, लेकर, इलेक्ट्रोनिक उपकरण, खाद्यकोटिङ, सौन्दर्य प्रसाधन, औषधि आदिमा प्रयोग हुने मूल्यवान पदार्थहरू बनाइन्छ।
खेती गर्ने तरिका:
होस्ट प्लान्ट: सेमिया लत्ता वा कुसुमका बिरुवाहरू रोपिन्छन्।
लाहा कीरा पालन: यिनीहरूमा लाहा कीरा (Kerria lacca) राखिन्छ, जसले रूखको हाँगामा राल उत्पादन गर्छ।
सङ्कलन र प्रशोधन: ६–८ महिनामा लाहा तैयार हुन्छ। त्यसपछि रूखबाट संकलन गरी प्रशोधन गरिन्छ।
बजार सम्भावना:
लाहाको अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ। भारत, चीन, अमेरिका लगायत देशहरूमा ठूलो मात्रामा निर्यात गरिन्छ। नेपालमा लाहा खेती हालको अवस्थामा न्यून भए पनि यसको व्यापारिक मूल्य निकै उच्च छ। सरकारले प्रवर्द्धन गरेमा यो वैकल्पिक आम्दानीको स्रोत बन्न सक्छ।
निष्कर्ष
पथरीशनिश्चरेका सामुदायिक वनहरूले लाहा खेतीको थालनी गरेर पर्यावरणीय संरक्षणसँगै आर्थिक समृद्धिको नयाँ मार्ग अवलम्बन गरेका छन्। यो पहलले वन उपभोक्ता समूहलाई दीर्घकालीन लाभ पुगाउने मात्र होइन, युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने सम्भावना समेत बोकेको छ।









