आम्मै ! साउनयता मात्रै मोरङमा बलात्कृत भएछन् १२ वालिकासहित १७ जना

  • १४ भाद्र २०७५, बिहीबार

मोरङमा साउन यता डेढ महिनाको अवधिमा मात्रै १७ वटा बलात्कारका घटना भएका छन् ।
बलात्कारमा पर्नेमा सबैभन्दा बढी १६ वर्ष मुनिका बालिका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बलात्कार पीडित २० जनामध्ये १२ जना १६ वर्ष मुनिका बालिका रहेको बताए । उनका अनुसार १६ वर्षदेखि ७० वर्षसम्मका आठ जना महिला बलात्कारबाट पीडित भएका छन् । छोटो अवधिमा पहिलो पटक यति धेरै बलात्कारका घटना भएको प्रहरीले जनाएको  छ ।

बलात्कारका विभिन्न घटनामा संलग्न रहेका १८ जना अभियुक्त मध्ये हालसम्म १४ जना पक्राउ परेको र ४ जना फरार रहेको प्रहरीले बताएको छ ।  अधिकांश घटनामा आफन्त, छिमेकी र चिनजानकै व्यक्तिहरुको संलग्नता रहने गरेको पाइएको डीएसपी थापाले बताए ।मोरङ प्रहरीले पछिल्लो समय बालिका, युवती, महिला र वृद्धा आफन्त र चिनजानकाबाटै बलात्कृत हुने क्रम बढेर गएको जनाएको छ ।

 प्रहरीले बालिकादेखि वृद्धा समेत  नातागोता र विकृत मानसिकता बोकेका आफन्तबाटै असुरक्षित हुने गरेको जानकारी दिएको छ । आफन्तलाई कारवाही हुने डर, यस्ता कुरा बाहिर ल्याउन नहुने मानसिकता, इज्जत जाने डर एवं पीडत पक्षले दिने प्रलोभन र धाकधम्की जस्ता  कारणले कतिपय बलात्कार पीडितहरु खुल्न समेत नचाहने गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।
बलात्कार जस्तो जघन्य अपराधका कतिपय घटनालाई मिलापत्रमा टुङ्ग्याउने प्रयास समेत हुने गरेको  र विभिन्न दवाब तथा  प्रभावका कारण कतिपय घटनामा पीडित खुल्न नचाहने भएकोले  प्रहरीले स्वविवेकले अनुसन्धान गरेर मुद्दा अघि बढाउनुपर्ने स्थिति रहेको उनले बताए ।  कतिपय घटनामा पीडकलाई उन्मुक्ती दिलाउन आफन्त र परिवारका सदस्य नै सक्रिय हुने गरेको केसीले बताए । (२०७५ भाद्र १४)