बन्द भएको सात आठ महिनापछि फेरि चल्न थाल्यो बिराटनगर जुटमिल
- २७ भाद्र २०७५, बुधबार
पुराना र जीर्ण मेसिन मर्मत गरी जुटमिल सञ्चालन गरिएको हो । जुटमिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनका अनुसार अहिले दैनिक ६ टन उत्पादन हुन थालेको छ भने दैनिक २० टनसम्म उत्पादन गर्ने क्षमता छ ।
मिल्समा जीर्ण रहेका मेसिनको मर्मत, कच्चा जुट, कामदार तथा अन्य व्यवस्थापनपछि मिल्स पुनः सञ्चालन गरिएको अध्यक्ष वनले बताए । भारतको कोलकात्ताबाट ल्याइएका जुट विशेषज्ञको टोलीले हाल उत्पादन, परामर्श र बजारीकरणमा सहयोग गरिरहेको छ।
पहिलो चरणमा मिलबाट जुटको सुत्ली र बोरा उत्पादन थाल्ने तयारी गरिएको छ। । अध्यक्ष वनले मिल्स सञ्चालनमा आएपछि पहिले पुराना कामदारको सूची बनाएर बिस्तारै रोजगारी दिँदै जाने योजना बनाएको छ।
पहिले ११ केभीएको विद्युत् लाइन काटिएपछि समस्या भएको थियो । तर हाल नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भइ मासिक ६ लाख ८० हजार रुपैयाँ भुक्तानी गर्ने गरी मिल्समा विद्युत जडान भएको छ। मिल्सलाई २४ घन्टा नै पर्याप्त विद्युत् उपलब्ध हुने गरी ३३ केभीए प्रसारण लाइन जोड्न सरकारसँग समेत माग गर्दै आएका छ।
बिक्रम सम्बत १९९३ सालमा कृष्णप्रसाद कोइराला र रामलाल गोल्छासमेतको सहयोगमा भारतका उद्योगी राधाकृष्ण चमडियाले मिल्सको स्थापना गरेका थिए। त्यसबेेलादेखि नै नेपालको औद्योगिक इतिहास सुरु भएको मानिन्छ ।