यसमा कम्पनीलाई जर्मन कन्सलटेन्टले पनि सहयोग गरेका छन् । अनि यसका लागि मेसिन भने भारत, जर्मनी, अस्ट्रेलियालगायतका देशबाट ल्याइएको हो ।
उद्योगका कार्यकारी निर्देशक अग्रवालका अनुसार पहिलो चरणमा यसरी उत्पादन भएको ग्याँस परासीका स्थानीय तथा भैरहवामा औद्योगिक प्रयोजनका लागि र होटलहरुमा बिक्री गरिदै आएको छ ।
अहिले सिलिण्डरमा भरेर ग्याँस बिक्री भइरहेको छ । रामग्राम नगरपालिकाका बजारमा तत्काल पाइपलाइनमार्फत घरघरमा ग्याँस पुर्याउने लक्ष्य छ ।’
यो ग्याँस भारतबाट आयातित एलपी ग्याँसभन्दा निकै सस्तो र वातावरणमैत्री पनि छ । वातावरणका लागि खराब मानिने कार्बनडाइअक्साइड नियन्त्रण गरेर स्वच्छ हावा बनाउन पनि यसले सहयोग पुगेको छ ।
बायोग्याँसका लागि कुहिएर खेर जाने वस्तु कच्चा पदार्थ हो । स्थानीयस्तरबाट फोहोर संकलन गरिन्छ भने कुखुराको सुली, चिनी मिलको छोक्रा, गोबरआदि वस्तु बायोग्याँस उत्पादनका लागि प्रयोग हुन्छ ।
उद्योगले १५ बिघा जग्गा भाडामा लिएर मकै खेती पनि गरिरहेको छ । यसैलाई कुहाएर कच्चा पदार्थ बनाउने उद्योगको योजना छ । बजारमा उपलब्ध हुने एलपी ग्याँस विस्थापन गर्ने उद्देश्यले नै बायोग्याँस उत्पादन सुरु गरिएको अग्रवालले बताए । त्यसैले यो ग्याँस भारतबाट आउने एलपी ग्याँसभन्दा करिब ४ रुपैयाँ सस्तो छ ।
यो ग्याँसको एलपी ग्याँसभन्दा हिटिङ पावर २५ प्रतिशत बढी हुने भएकाले थोरै ग्याँसले धेरै समय पुर्याउन सकिन्छ । उद्योगमा करिब ४ हजार घनमिटरको प्लान्ट निर्माण गरिएको छ । ग्याँसका अतिरिक्त यहाँबाट दैनिक १२ टन जैविक मल पनि उत्पादन हुन्छ ।
फोहर पदार्थ र गोबरबाट ग्याससहित कम्पोस्ट मल बनाउन सकिने भएपछि प्लान्टमा लगानी गरेको अग्रवाल बताउँछन् । मेम्रेन प्रविधिबाट सञ्चालन हुने प्लान्टबाट ५० प्रतिशत ग्याँस उत्पादन हुन्छ । अनि त्यसलाई प्रशोधन गरिन्छ । यसपछि ९५ प्रतिशत ग्याँस हुन्छ ।
फोहोरबाट ग्याँस उत्पादन हुने प्लान्ट निर्माणपछि स्थानीयबासी पनि खुसी बनेका छन् । यसले स्थानीयलाई रोजगारी दिएको छ भने फोहोरबाट आम्दानी पनि हुने गरेको छ ।
हालैमात्र यो बायोग्याँस प्लान्टको जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमा, वैकल्पिक ऊर्जा प्रवद्र्धधन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल तथा वैकल्पिक ऊर्जाका प्राविधिकसहित ७ जनाको टोलीले स्थलगत निरीक्षण समेत गरेको थियो ।
वेस्ट इनर्जी अर्थात फालिएको कुहिने फोहोरबाट ऊर्जा निस्किने भएकाले यसको उत्पादनमा सहजता पनि छ । शुक्रौलीमा प्लान्ट निर्माण सम्पन्न भई गत मार्चदेखि उत्पादन सुरु भएको थियोे ।