आमजुँगीमा पहिलोपटक स्थापना भो सामुदायिक स्वास्थ्य ईकाइ

  • २५ आश्विन २०७५, बिहीबार

सामुदायिक र निजी कुनै पनि स्वास्थ्य संस्था नभएको ठाउँमा  सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने केराबारी गाउँपालिका अन्तरगत स्वास्थ्य शाखाको कार्ययोजना अनुसार केराबारी ८ आमजुँगीमा पहिलोपटक सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ ।

केराबारी गाउँपालिकाको प्राबिधिक सहयोग र केराबारी वडा नम्बर ८ एवम् आमजुँगी सामुदायिक वनको साझेदारीमा सो स्वास्थ्य इकाई स्थापना भएको हो । स्वास्थ्य इकाईका लागि केराबारी गाउँपालिकाले अहेव र अनमी एबम स्वास्थ्य इकाईका लागि आबश्यक औसधि र उपकरण उपलब्ध गराएको छ । त्यसैगरी केराबारी ८ वडा कार्यालय र आमजुँगी सामुदायिक वनले भौतिक पुर्वाधार लगायतको ब्यबस्थापन गरेका छन् ।

केराबारी वडा नम्बर ८ का वडाध्यक्ष मनोज खड्काका अनुसार स्वास्थ्य इकाईमा एकजना अहेव र एकजना अनमीले उपस्वास्थ्य चौकी स्तरको सेवा दिनेछन् ।

बुधबार अर्थात् असोज २४ गते केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले सो स्वास्थ्य इकाईको उद्घाटन गरेका छन्  । केराबारी ८ का वडाध्यक्ष तथा स्वास्थ्य इकाई ब्यबस्थापन समितिका अध्यक्ष मनोज खड्काको अध्यक्षतामा r गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बुको समेत आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा आमजुँगी लगायत आसपासका मानिसहरुको उल्लेख्य उपस्थिति थियो । आमजुँगीमा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाईबाट आमजुँगीका ३ सयभन्दा बढी परिवार र वडा नम्बर ७ को डाँगीका केही परिवार पनि लाभान्वित हुने वडाध्यक्ष खड्काले बताए ।

केराबारीका सातवटा वडामा निजी वा सामुदायिक स्वास्थ्य केन्द्र भएपनि केराबारीका ८, ४ र ६ वडामा हालसम्म कुनै पनि स्वास्थ्य संस्था छैनन् । अरु दुई वडामा पनि निकट भविष्यमा नै स्वास्थ्य इकाई स्थापना गरिने गाउँपालिकाले जनाएको छ । – अम्बिका भण्डारी