मदन भण्डारी राजमार्ग ठ्याक्कै पहाडकै फेदीमा होस् भन्ने चाहन्छन् उत्तरी मोरङका जनता

  • ८ कार्तिक २०७५, बिहीबार

अम्बिका भण्डारी / साबिक चुरेफेदी सडक उपभोक्ता समितिबाट रुपान्तरित भइ बनेको मदन भण्डारी राजमार्ग निर्माण सहयोग समिति केराबारीले बजार क्षेत्र र घना बस्ती प्रभावित नहुने गरी पहाडको फेदैबाट प्रस्तावित  मदन भण्डारी राजमार्ग बनाउने पहल गर्न माग गरेको छ ।

केराबारी गाउँपालिका कार्यालयमा एक ज्ञापनपत्र बुझाउँदै समितिले सो माग गरेको हो । ज्ञापनपत्रमा राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गले केराबारीका केही वडालाइ छुने भएपनि राजमार्ग निर्माणमा विशेष ध्यान नपुर्‍याएमा केराबारी बजारको इतिहास र यहाँका केही सम्पदा मासिन सक्ने साथै ठुलो भौतिक क्षति हुने भन्दै चिन्ता व्यक्त गरिएको छ । मदन भण्डारी राजमार्ग निर्माण सहयोग समिति केराबारीका अध्यक्ष गोबिन्द थापा र महासचिव रोजन सापकोटाले हस्ताक्षर गरेको ज्ञापनपत्रमा बजार क्षेत्रबाट राजमार्ग बनाइएमा ध्वनि तथा वातावरण प्रदूषण, दुर्घटना आदि बढ्नसक्ने साथै केराबारी गाउँपालिकाले स्मार्ट सीटी बनाउन ल्याएको अबधारणा समेत बिग्रने भएकोले बजारभन्दा उत्तरतर्फको पहाड फेदीबाट राजमार्ग बनाउने पहल गर्न गाउँपालिकासँग माग गरिएको छ ।

ज्ञापनपत्रमा हाल रहेको पुर्व  पश्चिम सडकबाट केराबारी बजारसम्मको दुरी १० किलोमिटर मात्र रहेको र  पहाडको फेदीबाट राजमार्ग बनाउँदा सो दुरी पनि केही बढ्ने भएकोले बजारभन्दा उत्तरमा रहेको चुरे फेदीबाट नै राजमार्ग बनाउने पहल गर्न आग्रह गरिएको छ । पहाडको फेदीबाट ५० मीटर चौडा हुने भनिएको राजमार्ग बनाउँदा धेरै घर परिवार बिस्थापित नहुने तथा त्यस क्षेत्रको बिकासमा पनि ठुलो सहयोग पुग्ने भएकोले केराबारी बजारभन्दा उत्तरमा रहेकोे क्षेत्रबाट प्रस्तावित राजमार्ग बनाउन पहल गर्ने-गराउने निर्णय गरिएको मदन भण्डारी राजमार्ग निर्माण सहयोग समिति केराबारीका अध्यक्ष गोबिन्द थापाले बताए । गत असार २३  गते भएको बृहत भेलाबाट केराबारीका ३ वटा वडालाइ समेटेर ११ सदस्यीय मदन भण्डारी राजमार्ग निर्माण सहयोग समिति गठन गठन भएको थियो ।

बुधबार मदन भण्डारी राजमार्ग निर्माण सहयोग समिति केराबारीका सबै पदाधिकारीहरु ज्ञापनपत्र बुझाउन गाउँपालिका कार्यालय पुगेका थिए ।  गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की अनुपस्थित भएकोले सो ज्ञापनपत्र गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बुलाइ बुझाइएको थियो । केराबारी गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष जंगराज खवास र वडा नम्बर ८ का वडाध्यक्ष तथा इलामदेखि सिन्धुलीसम्मका सरोकारवालाहरुलाइ समेटेर बनेको चुरे मार्ग (मदन भण्डारी राजमार्ग) सरोकार समितिका सदस्य मनोज खड्काको समेतको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको थियो ।

ज्ञापनपत्रको बोधार्थ चुरे मार्ग सरोकार समिति तथा केराबारीको वडा नम्बर ३, ८ र १० लाई समेत दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै उपाध्यक्ष लिम्बूले समितिले पेस गरेका मागहरू जायज भएको र ती माग बमोजिम बजारको उत्तरबाट राजमार्ग बनाउन गाउँपालिकाले पहल गर्ने आश्वासन दिइन् ।  

यसरी बनेको थियो चुरेफेदी राजमार्गको अबधारणा

लगातारको राजमार्ग बन्द लगायत विभिन्न कारणले करिब १५ बर्षअघि खासगरी उत्तरी मोरङको केराबारी तथा  लेटाङदेखि मधुमल्ला अनि उत्तरी झापा र सुनसरीको धरानका नेताहरु तथा समाजसेवीहरुको पहलमा चुरेफेदी सडकको अबधारणा ल्याइएको थियो । शुरुमा तत्कालीन लेटाङ गाबिसका पुर्व अध्यक्ष चन्द्रप्रसाद गौतमको अध्यक्षतामा जन स्तरबाट एक  समिति निर्माण भएपछि उत्तरी मोरङका तत्कालीन केही गाबिसको बजेट र केन्द्रिय बजेट समेत बिनियोजन गराएर टुक्राटुक्रामा बिभाजित सडकहरुलाइ जोड्दै चुरेफेदी सडकको बिकास गर्न थालिएको थियो । झापाको चुलाचुलीबाट उत्तरी मोरङ, धरान, चतरा हुँदै उदयपुर र  सिन्धुलीसम्म जोड्ने सो समितिको अबधारणा थियो । हाल प्रदेश १ का सभाषद उपेन्द्र घिमिरे पनि यसअघि चुरेफेदी सडक निर्माण समितिमा थिए । हाल इलामका वृहस्पति खतिवडाको नेतृत्वमा अर्को समिति कृयाशील छ ।

स्तो छ हालको अवस्था

केही बर्ष पहिले उदयपुरपट्टीबाट बनेको सडक चतरामा सप्तकोशी नदिसम्म आइ त्यहाँ पुल समेत निर्माण भएपछि सो सडकको अबधारणा थप बलियो बन्दै गएको थियो । चुरे फेदी सडककै अबधारणा अनुसार धरानबाट पुर्व पानमारा हुँदै केराबारी आउने सडकमा तीनवटा पुल निर्माण भइसकेका छन् भने लेटाङ बजारको पश्चिमतर्फ रहेको चिसाङ खोला, मधुमल्ला लगायत उत्तरी मोरङ्का केहि खोलाहरुमा पक्की मोटरेबल पुल निर्मामाधिन अबस्थामा छन् ।  त्यतिमात्र होईन, धरानदेखि पुर्व पानमारा हुँदै मोरङ केराबारीको सिमानासम्म र लेटाङ बजार पश्चिमको चिसाङपुलदेखि पश्चिमतर्फ केराबारीको सिमाना छेउसम्म सडक कालोपत्रे समेत गरिएको छ । हाल लेटाङदेखि उदयपुरसम्म चुरेफेदी सडकबाट नै सहजै यात्रा गर्न सकिने अवस्था बनिसकेको छ ।

करिब १५ बर्ष अघि शुरु भएको चुरेफेदी सडकको बिकासका लागि अभियन्ताहरुले पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराउदै आएका थिए । सोही अनुसार नेपाल सरकारले केही महिना अघि मात्र चुरेफेदी हुँदै झापादेखि डढेलधुरा जोड्ने करिब १४ सय किलोमीटर लामो राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्ग बनाउने घोषणा गरेको थियो  । धरानभन्दा पश्चिमतर्फ केही भागमा यो राजमार्ग निर्माणका लागि काम शुरु भैसकेको छ भने धरानपुर्वतिर खासगरी उत्तरी मोरङ र उत्तरी झापा तथा इलामका केही भागमा सर्भे तथा डिपिआर निर्माणको काम बाँकी छ । यो राजमार्गको सर्भेका क्रममा यस अघि केही ठाउँमा स्थानीयबसीले अवरोध गरेपछि सर्भे रोकिएको थियो । सर्भे तथा राजमार्ग निर्माण स्थ लगायतका बिषयमा सरोकारवालासंग छलफल गर्न यसै हप्ता झापाको दमकमा छलफल आयोजना गरिएको बताइएको छ ।

आव २०७५/०७६ को बजेटमा सरकारले  मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ५० रुपैयाँ विनियोजन गरेको छ ।

यो पनि पढ्नोस् 

चुरे फेदीको किनारबाट पनि बन्नेभो पुर्व पश्चिम जोड्ने अर्को राजमार्ग