तिहार र छठ पर्वले गर्दा ह्वात्तै बढ्यो माटोका भाँडाकाे ब्यापार, कुमालेहरु उत्साहित

  • २१ कार्तिक २०७५, बुधबार

दिपेन्द्र यादव, इनरुवा । कात्तिक कृष्णपक्ष शुरु भएसँगै सुनसरीका गाउँ र नगरका बस्तीमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको छ ।

तिहार र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो), छ्याँची (दही जमाउने भाँडा) र ढकना (बिर्को) सहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो । वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा यी पर्व बिशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिँदै आएकाले यसले बजार पाएको हो ।
मुख्य व्यापारिक केन्द्र इनरुवा, इटहरी, धरान, दुहवी, लौकही, भोक्राहा, नरसिंह, बविया, भुटाहा, हरिनगराको मुख्यचोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् ।

वैदिक, धार्मिक र सांस्कृतिक पर्व र उत्सवमा आवश्यक पर्ने भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुम्हालेको व्यस्तता निकै बढेको छ । मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।
दीपावली र छठ पर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा, दही जमाउने छ्याँची र त्यसलाई छोप्ने ढकनसहित माटाकै नयाँ भाँडा प्रयोग गरिने परम्पराले यसको कारोवारमा वृद्धि भएको माटोका भाँडा बनाउँदै आएका अजय कुम्हारले बताउँछन् ।
‘‘पहिले पहिले त हाम्रो गुजाराको पेशा नै यही थियो, अब प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएका छौँ,” इनरुवा २ का ज्ञान्देव पण्डितले भने।
कात्तिक कृष्णपक्ष शुरु भएसँगै तिहार (दिवाली, दीपावली) को तयारी थालिने र लगत्तै छठ आउने भएकाले सर्वसाधारण पर्व बिषेेेेश सामानको जोहोमा लागेसँगै माटाका भाँडाको व्यापार बढेको छ ।