सुनसरीमा बढेका बढ्यै छन् चोरी डकैती, नियन्त्रण गर्न सकेन प्रहरीले पनि

  • २ पुष २०७५, सोमबार

दिपेन्द्र यादव, सुनसरी । इनरुवा –४ का पारशमणि यादवको को १८ प ६४०२ नम्बरको १५० सिसीको निलो कालो पल्सर मोटरसाइकल मंसिर २२ गते राती चोरी भयो । स्मार्ट सिटी अर्धसाप्ताहिक पत्रिकाको कार्यालय गेट अगाडी पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको थाहा पाउने बित्तिकै उनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिए । प्रहरी मोटरसाइकलको खोजीमा लाग्यो । खोजी गर्दा प्रहरीले मोटरसाइकल भेटाएनन ।

यसैगरी पुस १ गते आईतबार साँझ ७ बजे जिल्ला अस्पताल इनरुवा गेट अगाडीबाट को ३५ प ६५६६ नम्बरको १५० सिसीको कालो रातो मोटरसाईकल भएको छ । अस्पताल गेट अगाडी औषधी पसल गर्दै आएको भोक्राहा गाउँपालिकाका सफराज आलमको मोटरसाईकल चोरी भएको हो । चोरी भएको मोटरसाईकल र चोरको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा यतिबेला मोटरसाइकल चोरको बिगविगी छ । तर प्रहरीले चोर पक्राउ गर्न सकेको छैन् ।

‘मोटरसाइकल चोरी भए लगत्तै चोरहरुले ग्यारेजमा पुर्‍याउने र पार्ट पूर्जा खोलेर, डेन्टिङ पेन्टिङ चेन्ज गरेर बिक्री गर्ने गरेकोले चारी भएको मोटरसाइकल हतपत फेला पार्न समस्या नै हुन्छ ।

्इनरुवामा मोटरसाइकल चोरको पनि आ–आफ्नै गिरोह छन् । कुनै चोरले सडकमा पार्किङ गरिएका मोटरसाइकल चोर्छन् भने कुनै चोरले घर कम्पाउन्डमा राखेका मोटरसाइकल चोर्ने गर्छन् । सीमा नजिकै भएको कारण इनरुवामा मोटरसाइकल चोर्ने र भारत पुर्‍याएर पार्टपूर्जा चेन्ज गरेर सस्तोमा बिक्री गर्ने धन्दा फस्टाएको छ । उक्त गिरोहलाई प्रहरीले निगरानी गरेको भएपनि सीमाका कारण पारी गएर पक्राउ गर्न सक्ने अवस्था नरहेको प्रहरी स्रोत बताउँछ । ‘चोरलाई समात्न प्रमाण चाहिन्छ,’ सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले भने,‘यत्तिकै समात्नका लागि प्रमाण पुग्दैन र अपराधी छुट्ने चान्स हुन्छ ।

प्रहरीको रेकर्डमा दर्जनको हाराहारीमा मोटरसाइकल चोरी भएको उल्लेख छ । भेटिएका घटना पनि छन्। तर, चोरी रोकिएको छैन । प्रहरीले मोटरसाइकल चोरको विगविगी रोक्न विशेष प्रहरीहरु खटाएको छ । यद्यपी अझै मुख्य गिरोहलाई कारबाही गर्न सकेको छैन । ’हामीले भारतीय प्रहरीसँग पनि छलफल गरेर मोटरसाइकल चोरी नियन्त्रणका लागि प्रयास गरिरहेका छौं,’ अधिकारीले भने,’सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ र केही दिनभित्र हामीले त्यो गिरोहलाई कारबाही गर्छौं ।’ अधिकारीका अनुसार सुनसरी प्रहरीले केही व्यक्तिलाई मोटरसाइकल चोरीमा संलग्न भएको आशंकामा पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।

सदरमुकाम इनरुवासँगै पछिल्लो समय सुनसरीमा चोरीको घटना बढ्दैगएपछी जिल्ला प्रहरी कार्यालय सुनसरीको सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको फितलो सुरक्षा व्यवस्था र भारतिय खुला सिमानाको फाईदा उठाउदैँ सदरमुकाम इनरुवा सहित जिल्लामा चोरी गर्ने चोरहरुको गिरोह सक्रिय हुदै गएपनि चोरी नियन्त्रण गर्न सुनसरी प्रहरी असफल देखिएकोले चोरी घटनामा पिडित बनेकाहरु थप पिडामा पर्दै गएको पाईन्छ । प्रहरीले चोरी गर्ने गिरोहलाई पहिचान गर्न नसक्दा चोरी घटना बढ्दै गएको छ ।