बुढीगंगा घोषणापत्र जारी गर्दै युवा सम्मेलन सम्पन्न, सम्मेलन ऐतिहासिक र लाभदायी भएको निष्कर्ष

  • ८ पुष २०७५, आईतवार

ईश्वरी घिमिरे बुढीगंगा,मोरङ/ मोरङको बुढीगंगामा संचालित बृहत् युवा सम्मेलन सम्पन्न भएको छ ।

“समृद्द राष्ट्र निर्माणका लागि युवा अभियान” भन्ने मुलनारासहित संचालन गरिएको उक्त सम्मेलन जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको थियो। बुढीगंगा ६ स्थित नारायण मा. वि. को भवनमा संचालित २ दिने सो कार्यक्रम शुक्रबारदेखि शुरु भएको थियो।

उक्त कार्यक्रमको शुरुवातमा ५ सय जना युवाहरुलाई सहभागी गराउने लक्ष्य रहेको भएपनि महिला तथा पुरुष गरी विभिन्न क्षेत्रका ९ सय युवाहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो। युवाशक्तिलाई सचेत,जागरुक र सशक्त बनाई समुन्नत समाज र समृद्ध राष्ट्र निर्माणका लागि उक्त सम्मेलनको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष मकरबहादुर बुढाथोकीले बताए।

सम्मेलनमा सहभागी सम्पुर्ण युवाहरूलाई नेतृत्व विकास, कानुन र सामाजिक मेलमिलापमा युवाहरुको भूमिका, यौन तथा प्रजनन स्वास्थ्य, साइबरअपराध र लागुऔषध दुर्व्यसन,उद्यमशीलता, उदघोषण कला,सकारात्मक सोच र क्षमता विकास, उत्प्रेरणा र व्यवहार, लैङ्गिक विभेद र युवा नीति लगायतका विषयहरुमा देशकै ख्यातिप्राप्त प्रशिक्षकहरुबाट प्रशिक्षण प्रदान गरिएको छ।

सो कार्यक्रममा सहभागीहरुलाई भागिरथ पोख्रेल, सविता भेटवाल, गणेश लुइँटेल, वसन्त अधिकारी,सागर भट्ट, सीता पौडेल, लक्ष्मी गिरी, मनोज के. सी., अशोक चौधरी लगायतका प्रशिक्षकहरुले विभिन्न विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए। उक्त प्रशिक्षणबाट आफूहरुले विभिन्न किसिमका व्यवहारिक तथा जीवनोपयोगी ज्ञानका कुराहरू सिक्ने अवसर पाएकाले ज्यादै खुशी लागेको र त्यसलाई आफ्नो व्यवहारमा उतार्ने बुढीगंगा ३ बाट सहभागी हुन आएकी कुमकुम शाहले बताइन्।

त्यस्तै प्रशिक्षणबाट आफूले जीवनमा आत्मविश्वासका साथ जुनसुकै महत्त्वपूर्ण काम पनि गर्न सक्छु भन्ने महसुस भएको अर्का सहभागी बुढिगंगा ४ कि अप्सरा खतिवडाले बताइन्। विशेषत: ग्रामिण क्षेत्रका युवाहरुप्रति लक्षित सो सम्मेलनले विभिन्न नयाँ अभियान तथा कार्यक्रमहरुसहितको १३ बुँदे “बुढीगंगा घोषणापत्र” जारी गरेको छ ।

घोषणापत्रमा नीतिनिर्माण तथा कार्यान्वयन तहमा युवाहरुलाई अनिवार्य रुपमा सहभागी गराउनु पर्ने, युवा सशक्तीकरण र विकासलाई राज्यका हरेक निकायहरुले पहिलो प्राथमिकता दिनुपर्ने, युवाहरुलाई निराश भएर विदेसिनु पर्ने बध्यात्मक परिस्थितिको अन्त्य गरी उनीहरुलाई सिर्जनात्मक र उपलब्धिमूलक कार्यमा लगाई देशको विकास गर्नुपर्ने लगायतका बुँदाहरु रहेका छन् । बुढीगंगा गाउँपालिकालाई समेत औपचारिक रुपमा हस्तान्तरण गरिएको उक्त घोषणापत्र ग्रहण गर्दै गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छेदारले स्थानीय सरकारको रुपमा रहेको आफ्नो गाउँपालिकाले आगामी दिनहरुमा नीतिनिर्माण तथा कार्यान्वयन गर्दा युवा सशक्तीकरण र विकासलाई पहिलो प्राथमिकतामा राख्ने र घोषणापत्रमा उल्लेख भएका कुराहरुलाई जुनसुकै अवस्थामा पनि कार्यान्वयन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरिन् ।

राजनीतिक नेतृत्वले युवाहरुलाई प्रयोग मात्र गरेको तर अवसर नदिएको वर्तमान परिवेशमा आफूले युवाहरुलाई सशक्त बनाई उनीहरुलाई विशेष अवसर र जिम्मेवारी दिने आफ्नो अवधारणा र कार्यक्रम देशमै नितान्त नौलो र प्राम्भिक चरणमा नै ऐतिहासिक रूपमा सफल रहेको आयोजक समितिकी सचिव तथा सामाजिक अभियन्ता रीता न्यौपानेले बताइन्। सामाजिक यात्रामा आफू सधैं युवाहरुकै साथमा रहने र उनीहरुलाई देशकै सबल र सशक्त जनशक्तिका रुपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको समेत उनले बताइन् । उनले भनिन् ” यो त एउटा प्रारम्भिक चरण मात्र हो; अब कुनैपनी युवाहरुले निराश हुनुपर्दैन, समृद्ध जीवन र उज्ववल भविष्यका लागि सधैं हाम्रो साथ र सहयोग रहनेछ।”

आफूहरुले देशका अन्य विभिन्न स्थानहरुमा प्रशिक्षण प्रदान गर्दै आएको भएपनि यो कार्यक्रम अन्य क्षेत्र र स्थानको भन्दा बिल्कुलै फरक र प्रशिक्षार्थीहरुका लागि थप उपलब्धिमूलक भएको प्रशिक्षक भागिरथ पोख्रेल र सविता भेटवालले बताए। सकारात्मक अभियानस्वरुप बृक्षारोपण गरी फरक ढंगले उदघाटन गरिएको उक्त कार्यक्रमको समापन पश्चात् विद्यालय र त्यस वरिपरिको क्षेत्रमा सरसफाइ अभियानसमेत संचालन गरिएको थियो।