रजस्वला : भोगाइ, समाजमा रहेको भ्रम र सुरक्षाका उपायहरु

  • १९ माघ २०७५, शनिबार

अस्मिता भट्टराई
पहिलोपटक रजस्वला हुदा माइतीको अनुहार र आफ्नो घरको छोरा मान्छेको अनुहार हेर्न हुँदैन, हेरेमा ठुलो समस्या आइपर्छ भनेर आफ्नो घर छोडेर अरु कसैको घर मा गएर बीस बाइस दिन बस्ने कुप्रथा थियो पहिले । अहिले त्यस्तो चलन हराउँदै गएपनि अझै पनि त्यसका अबशेस छैनन् भन्न सकिन्न।
महिनावारी, रजस्वला अनि मिन्स नाम छंदैछ नछुने वा अछुत जस्ता बिभेदकारी नाम पनि दिएको छ समाजले।
म १३ बर्षकी भएपछि पहिलोपटक रजस्वला भएको थियो । मलाइ यो बारे अलि अलि थाहा थियो तर के गर्ने कसो गर्ने भनेर राम्रोसंग थाहा थिएन । म पनि आफ्नो घर छोडेर अरुकोमा बस्नपर्छ भनेर घरमा सुनाइन, कसैलाई केही पत्तै दिइन ।
घरमा त सजिलै हुन्थ्यो तर जब स्कुलमा हुन्थें, धेरै गाह्रो हुन्थ्यो । कसैलाई थाहा नहोस भनेर मैले ममिको पुरानो फालेको सारी टुक्राटुक्रा पारेर प्रयोग गरेकी थिए । घरमा कोही नहुंदा धुन्थें । अनि लुकाएर सुकाउथें । अनि अलि अलि सुकेपछि चिसो चिसोमै फेरि प्रयोग गर्थें । यसरी नै तेस्रोपट्क महिनावारी हुंदासम्म घरमा कसैलाइ थाहा भएन ।
जब चौथोपटक रजस्वला भएं, अनि घरमा थाहा भयो । त्यसबेला म ९ कक्षामा पढ्न थालेकी थिएं । मलाइ झोलामा कपडा अनि चाहिने सामान पोको पारेर ठुलो ममीको घरमा पठाउनु भयो । २२ दिन आफ्नो घर छोडेर अरुकोमा बस्नुको पिडासंगै त्यसबेला शारीरिक पिडाले धेरै सताउंथ्यो।
यस्तो पिडा म मात्र होइन, धेरै महिलाले भोगेका छन् । मैले मात्र होइन, राम्रोसंग नधोएको अनि घामले नसुकेको चिसै कपडा अरुले नि प्रयोग गर्छन् । पहिलोपटक राजस्वला हुंदा मेरो मात्र होइन, धेरैको पढाई छुट्ने गरेको छ ।
अहिले पनि बिद्यालयहरुमा महिलाको लागि आराम गर्ने, कपडा तथा प्याड फेर्ने अनि ब्यबस्थापन गर्ने छुट्टै कोठाको व्यवस्था छैन ।
जब एउटी महिला महिनावारी हुन्छे, उसलाइ समाजले अपबित्र भनेर नाम दिन्छ । अझैपनि समाजमा यस्तो कुप्रथा बिधमान छ । अझैपनि कतिपय महिलालाई महिनावारी हुंदा कसरी र किन सफा हुनुपर्छ भन्ने चेतना छैन । महिनावारी सम्बन्धि चेतना र ब्यबस्थापन गर्न नजानेर कतिपय महिला पाठेघर तथा प्रजनन अङगमा संक्रमण भएर रोगी भएका पनि छन् । तर अझैपनि यो महिनावारी हुंदा अछुत भइन्छ भन्ने भ्रम मानिसहरुमा छ ।
महिनावारी हुंदा सफा बस्नुपर्छ , सफा कपडा प्रयोग गर्नुपर्छ, प्याड व्यब्स्थित रुपले प्रयोग गर्नुपर्छ भन्ने चेतना सम्बन्धि अभियान चलाउनु पर्ने आवश्यकता छ । यसरी अभियान चलाएर महिलाको प्रजनन स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी समाजका हरेक मानिस , स्थानीय तह तथा राज्यले लिनुपर्छ । (लेखक बाल अधिकारकर्मी तथा सामाजिक अभियन्ता हुन् )