पुर्वका विभिन्न जिल्लामा हात्तिपाईले विरुद्धको औषधी खुवाउन शुरु

  • १५ फाल्गुन २०७५, बुधबार

बेलबारी मोरङ  / प्रदेश नम्बर १ का झापा, मोरङ,धनकुटा,पाँचथर, ईलाम लगायतका जिल्लामा हात्तिपाईले विरुद्धको औषधी खुवाउन थालिएको छ ।

खोप अभियान अन्तरगत बेलबारी र पथरी शनिश्चरे नगरपालिकामा पनि हात्तिपाईले विरुद्धको औषधी खुवाउन थालिएको छ ।

बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले औषधी खाएर खोप  अभियानको आरम्भ गरेका छन ।
यस रोगको औषधी दुई वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका ५ वर्षमुनिका बालबालिका, गर्भवति महिला, सिकिस्त बिरामी, मुटु रोगी, क्यान्सरका बिरामी, मृगौला रोगी, छारेरोग भएका व्यक्तिले सेवन गर्न नहुने स्वास्थयकर्मीहरुले बताएका छन ।

बेलबारीका ६६ हजार २ सय ३६ जनालाई औषधी वितरण गर्ने गरी योजना बनाएको स्वास्थय संयोजक सन्तोष बिश्वकर्माले बताए । नगरपालिकाले सो अभियानमा ५० जना भन्दा वढि स्वास्थय कर्मी परिचालन गरेको छ ।

नगर प्रमुखले औषधि खाएर कार्यक्रम उद्घाटन

मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले हात्तीपाइले रोग विरुद्धको औषधि खाएर नगरमा हात्तीपाइले निवारण अभियानको उद्घाटन् भएको छ ।

नगरपालिका कार्यालयमा भएको कार्यक्रममा नगर प्रमुख राईका साथै उहाँकी श्रीमती शान्तादेवी राईका साथै नगर उपप्रमुख यमुना विष्ट वास्तोला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन सहितले औषधि खाएपछि अभियानको उद्घाटन् गरिएको हो ।

सो अवसरमा बोल्दै नगरप्रमुख राईले औषधिले असर पार्ने भ्रमलाई चिरेर विश्वस्वास्थ्य संगठनबाट मान्यताप्राप्त गुणस्तरीय औषधि आफुले पनि सेवन गर्ने र अरुलाई पनि सेवन गराउने अभियानमा सवै लाग्न आव्हान समेत गर्नुभयो ।

उद्घाटनपछि वडा नम्वर १ का लागि तोकिएको शहरी स्वास्थ्य केन्द्रमा समाजका अगुवा वीरवहादुर वस्नेत, शिक्षक अगुवाहरु रुपनारायण भट्टराई, अर्जुनकुमार बुढाथोकी, टीकाप्रसाद दंगाल, उपेन्द्र कँडेल सहितले औषधि सेवन गर्नुभयो ।

मजदुरका केन्द्रीय अगुवा तुलसीराम ढकाल, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य, सूचना संयोजक भूपेन्द्र तिम्सिना, पथरी जेसीज अध्यक्ष मानबहादुर दियाली, बैंकका कर्मचारी, नगरपालिका कर्मचारी सहित समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले सो अवसरमा औषधि सेवन गरेका छन् ।

यसैगरी, नगरका १० वटा वडामा १० वटा केन्द्र बनाई आज औषधि खुवाउने अभियानमा वडाध्यक्ष र वडासदस्यहरुको अग्रसरता जनाउनु भयो । भोलीदेखि भनें घरघरमा गएर प्रत्येक वडामा ४,४ जना स्वास्थ्यकर्मीले औषधि खुवाउने कार्यक्रम तय भएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाउनु भयो ।

पथरीशनिश्चरेमा यसअघि २६ जनामा हात्तीपाइलेको जिवाणु फेला परेको थियो ।

दुई सातासम्म संचालन हुने औषधी सेवन कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयंसेवकले नजिकको स्वास्थ्य सेन्टर र घर–घरमा पुगेर खुवाउने बताइएको छ ।सरकारले प्रत्येक वर्ष हात्तीपाईले रोगबाट बच्नलाई औषधी खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ । हात्तीपाइले रोग लागेमा हातखुट्टा र ग्रन्थी सुन्निने, हाइड्रोसिल हुने, स्तनमा गिर्खा देखिनेलगायत समस्या देखिने गर्छ । यस रोगको समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गता समेत हुने गर्छ ।