दुवै मृगाैला खराव भएकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारमा सहयाेग जुट्दै

हालसम्म जुट्यो करिब ७ लाख

  • १६ फाल्गुन २०७५, बिहीबार

केशु विरही, बेलबारी, माेरङ/ दुवै मृगाैलाले काम नगरेर नियमित रुपमा उपचार गराईरहेकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारका लागि देशविदेशबाट सहयाेग रकम संकलन हुने क्रम जारी छ ।

१३ महिनादेखि दुवै मृगाैलाले काम नगरेर थलापरिरहेकाे थाहा पाएपछि स्थानीयहरु उनकाे उपचारमा एकजुट भएका थिए ।

एक सन्तानकी आमा समेत रहेकी ३१ वर्षीय गुरुङकाे पारिवारकाे आर्थिक अवस्था कमजाेर भएकाेले परिवारकाे एक्लाे प्रयासले उपचार संभव नभएपछि आफूहरु उनकाे उपचारमा सहयाेग जुटाउन लागिरहेकाे स्थानीय वताउँछन् ।

अहिले उनकाे उपचारकाे लागि सहयाेग रकम जुटाउन स्थानीय मनकुमार गुरुङकाे संयाेजगत्वमा सरस्वती गुरुङ वचाउ अभियान नै संचालन गरिएकाे छ । अभियान संचालन भएयता उनलाई सहयाेग गर्नेकाे संख्या वढिरहेकाे छ ।

सरस्वती गुरुङ वचाऔं अभियान संयाेजक गुरुङले केहिदिन अघि रु ४ लाखभन्दा वढि रकम उठिसकेकाे र उठ्ने क्रम जारी रहेकाे वताएका थिए । अहिले सो रकम   ७ लाखकाे हाराहारीमा पुगिसकेकाे अनुमान गरिएकाे छ ।

ड्राईभिङ पेसा गरेर घर खर्च धानी रहेका सरस्वतीका श्रीमान मनबहादुर गुरुङ जसरी पनि आफ्नी श्रीमतीलाई बचाउन लागिपरेका छन् । तर दुवै मृगाैला फेर्न झण्डै ३० लाखकाे हाराहारीमा रकम लाग्ने भएपछि कसरी यतिधेरै रकम जुटाउने भन्नेमा छन् । तर देशविदेशबाट सहयाेग रकम उठिरहेकाेले उनी निरास भने छैनन् । अाफ्नी प्राणभन्दा प्यारी पत्नीकाे उपचार सम्भव हुनेमा अासावादी छन् ।

विहिवार मात्र धरानमा भएका सरस्वतीका आफन्तले उठाएर पठाएकाे ८८ हजार ८० रुपैया र धरान १५ स्थायी वसावास रही राेजगारीकाे सिलसिलामा हाल काेरियामा रहेकाे सुगम भूजेलले पठाएकाे रु २६ गरि जम्मा १ लाख १४ हजार ८० उनकाे परिवारलाई हस्तान्तरण गरिएकाे थियाे ।

साथिभाइ र श्रीमानले संकलन गरेर पठाएकाे सहयाेग रकम परिवारलाई हस्तान्तरण गर्दै सुगमकी श्रीमती तारा भुजेलले सानाे रकम भए पनि सरस्वतीलाई सहयाेग गर्न पाउँदा अाफूलाई खुसीलागेका वताईन । साथै उनले अरुलाई पनि सहयाेग गर्न आग्रह गरिन् ।

उनले भनिन- सानाे सहयाेगले यदि कसैकाे ज्यान बच्छ भने किन सहयाेग नगर्ने । म सबैजनालाई सरस्वती दिदीकाे उपचारमा सहयाेग गर्न आग्रह गर्दछु ।”

केहिदिन अघि मात्र समितिले बेलबारी १ स्थित तमु बुद्धिष्ट गुम्बामा पत्रकार सम्मेलन गरेर सरस्वती बचाउ अभियानमा सबैलाई लाग्न आग्रह गरेकाे थियाे ।

पत्रकार सम्मेलनकै दिन बेलबारी १ निवासी मोहन गुरुङको नेतृत्वमा रु. ७५ हजार ३ सय र कोशी नेपाल टिभिबाट रु.१० हजार उपचारर्थ सहयोग रकम हस्तान्तरण गरिएकाे थियाे ।

बुधबार मात्र बेलबारी नगरपालिका वार्ड नं ४ का विभिन्न पाँवटा टाेलहरुबाट उठेकाे १ लाख ५२ हजार ६ सय ३५ परिवारलाई हस्तान्तरण गरिएकाे थियाे ।