केराबारी गाउँपालिकाको तेस्रो गाउँसभा भब्य रूपमा उद्घाटन

  • २८ फाल्गुन २०७५, मंगलवार

केराबारी गाउँपालिकाको तेस्रो गाउँसभा भब्य रूपमा उद्घाटन गरिएको छ ।

केराबारी ८ स्थित हिमचुली सामुदायिक वनको सभाहलमा गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद घनश्याम खतिवडाको प्रमुख आतिथ्यता र प्रदेश सभाषद उपेन्द्र घिमिरेको विशेष आतिथ्यता थियो । गाउँसभामा सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायत विभिन्न संघ सैस्थाका प्रतिनिधिहरु पनि उपस्थित थिए ।

गाउँसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघीय सांसद घनश्याम खतिवडाले केराबारीमा जेफाले, ओख्रे जस्ता धेरै पर्यटकीय स्थलहरु रहेकोेले पर्यटन र कृषिको बिकास गरेमा समृद्ध केराबारी बन्न सक्ने बताए ।  उनले केराबारीको बिकासका लागि आफुले पनि संघीय बजेट मार्फत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गाउँसभामा केराबारी गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी लिम्बु (भुजेल) ले आ.ब. २०७५/ ०७६ को निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

निति कार्यक्रममा सुशासन, स्वरोजगार, कृषि क्षेत्र प्रबर्द्धन, पर्यटन प्रबर्द्धन, शिक्षा, स्वास्थ्य जस्ता बिषय समेटिएका छन् । त्यसैगरी पुर्वाधार बिकास नितिमा सडक, सिंचाइ, भवन तथा शहरी बिकास, उर्जा, सञ्चार, खानेपानी, पर्यटन, उद्योग तथा बाणिज्य जस्ता क्षेत्र समेटिएका छन् । सामाजिक बिकास नितिमा शिक्षा, स्वास्थ्य, खानेपानी र पर्यटन समेटिएका छन् । त्यस्तै आर्थिक बिकास अन्तरगत बजेट श्रोत तथा परिचालन, कृषि बिकास, नागरिकको आय आर्जन, श्रोत पहिचान र पर्यटन जस्ता शिर्षक समेटिएका छन् । निति तथा कार्यक्रममा वातावरण तथा बिपद ब्यबस्थापन निति र सार्वजनिक सेवा जस्ता बिषयलाइ पनि समेटिएको छ । निति कार्यक्रममा केही बिषयलाइ प्राथमिकतामा समेत राखिएको छ ।

मंगलबार शुरु भएको तेस्रो गाउँसभा बुधबारसम्म संचालन गर्ने कार्यक्रम छ तर आवश्यक परेमा गाउँसभाको अबधि लम्बिन सक्ने बताइएको छ । गाउँसभाका कारण दुई दिनसम्म गाउँपालिकामा प्रवाह हुने सेवा बन्द रहने गाउँपालिकाले जनाएको छ ।