धुर्मुस सुन्तली फाउण्डेसनलाई स्मृति स्कुलले गर्यो डेढ लाख सहयोग
- ३ चैत्र २०७५, आईतवार
ईश्वरी घिमिरे(बुढीगंगा,मोरङ)/ मोरङको बुढीगंगा ३, नेमुवास्थित स्मृति इङ्लिस बोर्डिङ स्कुलले चितवनमा निर्माण शुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
स्कुलको १४ औँ बर्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहको अवसर पारेर स्कुलकी प्रीन्सिपल तथा सामाजिक अभियान्ता रीता न्यौपानेले शनिबार उक्त रकम प्रदान गरेकी हुन्। प्रीन्सिपल रीता न्यौपाने र सहायक प्रीन्सिपल मणिराम न्यौपानेले नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रतिनिधि सभा मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदी, प्रदेश सांसद केदार कार्की, चुमनारायण तबदार र बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी तथा उपाध्यक्ष अमृता गच्छ्दारलगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा सो रकमबराबरको चेक सामुहिक रुपमा हस्तान्तरण गरेका छन् ।
उक्त अवसरमा बोल्दै प्रीन्सिपल न्यौपानेले आफू र आफ्नो स्कुल सधैं नाफा कमाउने उद्देश्यमा मात्र नलागेर समाजसेवालाई सधैं आफूले उच्च प्राथमिकतामा राखेको र अन्य धेरै क्षेत्रहरुमा आफूले सहयोग गर्दै आएको भएपनि धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने धेरै पहिलेदेखिको आफ्नो चाहना पूरा भएको बताइन्। साथै आगामी दिनहरुमासमेत यस्ता किसिमका सहयोगहरुलाई निरन्तरता दिइरहने समेत उनले बताइन्।
उक्त सहयोग ग्रहण गरेपश्चात समारोहलाई सम्बोधन गर्दै फाउण्डेसनका अध्यक्ष तथा ख्यातिप्राप्त कलाकार सिताराम कट्टेल(धुर्मुस)ले रंगशाला निर्माणका लागि प्रदेश नम्बर १ बाट प्राप्त भएको यो नै पहिलो सहयोग भएको बताए। त्यसका साथै उनले मानिस धर्तिमा जस्तो रुपमा खाली हात आएको छ त्यस्तै खाली हात नै जाने भएकाले जीवित छँदै समाज र राष्ट्रकालागि केही चिनो छाडेर जाने आफ्नो उद्देश्य रहेकोले सो रकमको भरपुर सदुपयोग गर्ने प्रतिबद्दता व्यक्त गरे।
समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजी विद्यालयहरु नाफामुखी मात्र भएर अगाडि बढिरहेको अहिलेको परिस्थितिमा उनीहरुलाई सरकारले सेवामुखी हुन आग्रह गरिरहेको बेला यो सहयोग अत्यन्तै प्रशंसनीय रहेको बताए। बाहिर हल्ला गरिएजस्तो सरकार निजी विद्यालय तत्काल बन्द नै गराउने सरकारको नीति नरहेको भन्दै मन्त्री पण्डितले भने “उनीहरुले पनि आफ्ना विद्यार्थी,शिक्षक अभिभावक,समाज र सरकारप्रतिको दायित्व कदापि बिर्सिनु हुँदैन। सरकारको यहि आग्रह हो।”
सोही अवसरमा प्रतिनिधि सभा मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीले जन्म र मृत्यु आफ्नो नियन्त्रणभित्र नभएकाले मर्नुअघी नै समाज र राष्ट्रका लागि केही छाप छोडेर जाने आफ्नो पनि संकल्प रहेकाले यो सहयोगलाई आफूले सदा स्मरणीय रुपमा लिएको बताए। समारोहमा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले विद्यालयलाई शुभकामना व्यक्त गर्दै विद्यालयमा कक्षा ११ को पठनपाठन लगायतका अन्य विभिन्न पक्षहरुमा स्थानीय सरकारको सकारात्मक सहयोग रहने बताए ।
विद्यालयमा उत्कृष्ट सेवा पुर्याउनु हुने शिक्षकशिक्षिकाहरु देवराज के सी, पवित्रा खड्का, बिनोद न्यौपाने लगायत अन्य विभिन्न अभिभावकहरुलाई समेत सम्मान गरिएको उक्त समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो।