बिदेशबाट फर्केका सुन्दरहरैंचाका एक जोडी, जो गाउँमै मासिक ४ लाखभन्दा बढी कमाउँछन्
- ११ चैत्र २०७५, सोमबार
अम्बिका भण्डारी , बिराटचोक (मोरङ) / करिब १८ बर्ष वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएका मोरङका एक युवाले त्यति ठुलो लगानीबिना नै शुरु गरेको ब्यबशायबाट प्रारम्भिक अबधिमै मासिक ४ लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।
मोरङको सुन्दरहरैंचा १ हरैंचा बजारका जेङ्स सुनुवार (जंगबहादुर) ले शुरु गरेको ब्यबशायले यतिबेला सबैको ध्यानाकर्षण गराएको छ । १८ बर्ष लामो प्रवासको बसाइ छाडेर आठ नौ महिनाअघि स्वदेश फर्केका सुनुवारले ब्यबशाय थालेको दुई महिना मात्र भएको छ । तर हाल उनको ब्यबशायबाट १० जनाले रोजगारी पनि पाएका छन् ।
वैदेशिक रोजगारीको शिलशिलामा दुई बर्ष कतार र १८ बर्ष युएई बसेका सुनुवारले त्यहाँ रहँदा होटल र होटल म्यानेजमेण्ट क्षेत्रमा कामको अनुभव लिएका थिए । उनी पहिलोपटक सन् २००० मा कतार गएका थिए । एक ईन्डियन रेष्टुरेन्टमा उनले दुई बर्ष काम गरे । दुइ बर्षपछि स्वदेश फर्केका उनी सन् २००२ मा फेरि एक क्याटरिङ कम्पनीमा काम गर्न युएई गए । दुबइको क्याटरिङ कम्पनीमा वेटर हुँदै क्याटरिङ म्यानेजरसम्मको अनुभव पनि लिएका थिए ।
हुन त स्वदेश फर्कदा उनले नेपालमा एउटा ठुलै होटल खोल्ने योजना बनाएका थिए । स्वदेश फर्केपछि उनी होटल खोल्ने स्थान तय गर्न पुर्वका विभिन्न ठाउँ लगायत काठमाडौं, बुटवल लगायतका विभिन्न स्थानमा घुमे । तर उपयुक्त स्थानको अभाव र धेरै ठुलो लगानी गर्नुपर्ने अबस्थाका कारण उनी सो योजनाबाट पछि हटे । अन्त्यमा उनले होटल चलाउन मिल्ने एउटा गाडी डिजाइन गरे र गाडी बनाउन अर्डर दिए । कुल २५ लाख लागतमा गाडी तयार भएपछि उनले दुई महिनाअघि गाडीमै फास्ट फुडवाला रेस्टुरेन्ट सुरु गरे । अनि सो रेस्टुरेन्टको नाम राखे ‘जेङ्स हाइवे फास्ट फुड’ ।
त्यसो त दुबई रहँदादेखि स्वदेश फर्कदासम्मको जेङ्सको एक प्रेम कहानी छ, जुन रोचक पनि छ । दुबईमा रहँदा उनको एक फिलिपिन्सका एक युवकसँग राम्रो मित्रता थियो । ती फिलिपिनी युवा र जेङ्सको मित्रता बढेको बेला एक दिन ती फिलिपिनी युवाकी दिदी ‘रोज ग्रानाडा’ सँग जेङ्सको भेट भयो । दुवैले एक अर्कासँग चिना परिचय गरे । रोज दुबईमै रहेको क्यारिफोर कम्पनीमा सेल्स गर्लको रूपमा काम गर्थिन् भने जेङ्स अर्को एक कम्पनीमा क्याट्रिङ म्यानेजर थिए । चिनजानपछि उनीहरूको बेलाबखत भेटघाट हुन्थ्यो । त्यतिकैमा हुँदाहुँदै उनीहरूले एक अर्कालाई मन पराउन थाले । केही बर्षको प्रेमपछि गत बर्षको असारमा उनीहरूले दुबईमा नै बिवाह गरे र केही समयपछि दुवैजना वैदेशिक रोजगारी छाडेर नेपाल आए ।
युएईमा रहँदाको एउटा प्रेम बिवाहमा परिणत भएपछि नै जेङ्सले स्वदेश फर्केर ब्यबशाय शुरु गर्ने योजना बनाएका थिए । अनि उनकै जीवन संगीनीको साथ र सहयोगबाट नै उनको ब्यबशाय दुई तीन महिना नबित्दै सर्वाधिक लोकप्रिय र मासिक साढे ४ लाखदेखि साढे ४ लाखसम्म आम्दानी दिने ब्यबशाय भएको छ ।
‘जेङ्स हाइवे फास्ट फुड’ ले छोटो समयमा नै लोकप्रियता र मनग्ये पैसा आर्जन गर्नुको कारण हो, यस रेस्टुरेन्टमा अन्यत्र पाइनेभन्दा फरक प्रकृतिका र गुणस्तरीय खाजा – नास्ताको उपलब्धता । बिदेशमा पाइने खालका चिकेन बर्गर, भेज बर्गर, एगरोल, किमा पराठा, गृल चिकेन र्याप, भेज रोल, फ्राइ चिकेन, ससेस रोल, चिकेन ब्रियानी, चिकेन समोसा, चिकेन मम तथा आइसक्रिम र केहि जुस आइटम समेत ‘जेङ्स हाइवे फास्टफुड’ मा पाइन्छ । त्यसमध्ये बर्गर, एग रोल, किमा पराठा, भेज पराठा, ससेज रोल आदि खानेकुरा लाइभ कुकिङ गरेर ग्राहकलाई दिइने सन्चालक जेङ्स बताउँछन् । निकट भबिष्यमा पिजा समेत बनाउने योजना रहेको उनले सुनाए ।
यो रेस्टुरेन्टले सुन्दरहरैंचा नगरपालिकामा दर्ता भई ब्यबशायिक प्रमाणपत्र समेत लिएको छ । त्यसैले सुन्दरहरैंचा नगरपालिका क्षेत्रभर जता गएर पनि रेस्टुरेन्ट चलाउन सहज छ । गत महिना भएको सुन्दरहरैंचा एक्सपोमा समेत स्टल राखेको थियो । हाल हप्तामा अरु दिन सुन्दरहरैंचा नगर क्षेत्रमा र दुई दिन छिमेकी बजार बेलबारीमा रेष्टुरेन्टले ग्राहकलाई सेवा दिइरहेको छ ।
सफा सुग्घर, तुलनात्मक सस्तो, अन्यत्र पाइनेभन्दा फरक र बिदेशी स्टाइलका फास्ट फुड उपलब्ध भएका कारण दिनानुदिन ग्राहकहरु बढ्दै गएका छन् । अझ लेटाङ, पथरी, बिराटनगर लगायतका विभिन्न ठाउँबाट त्यस्तो रेष्टुरेन्टको सुविधा उपलब्ध गराइदिन अनुरोध आइरहेकोले भविष्यमा ठुलो गाडीको रेष्टुरेन्ट बनाएर सेवा दिने तथा अन्तर्राष्ट्रिय स्तर र क्वालिटीको ब्राण्ड स्थापित गर्ने दीर्घकालीन योजना रहेको जेङ्स बताउँछन् । हाल कतिपय मानिसहरुले हङकङ र सिंगापुरको झल्को दिने रेष्टुरेन्ट चलाएको भन्दै प्रशंसा गरिदिएका कारण जेङ्स र उनकी पत्नी रोज ग्रानाडा दंग छन् ।
हाल रेष्टुरेन्टको लागि जेङ्सका जोडी र उनकै केही दाजुभाइ र आफन्त सहित १० जनाले रोजगारी पाएका छन् । जसमध्ये गाडीवाला रेष्टुरेन्टमा ५ जना हिड्ने गरेका छन् । अरु पाँच – छ जनाले घरमा बिहानभर दिउँसोको लागि परिकार तयार गर्ने गरेका छन् । सबै स्टाफहरु नयाँ भएकाले अपेक्षित ब्यापार हुन नसके पनि दैनिक १२ देखि १५ हजारको ब्यापार भइरहेको जेङ्स बताउँछन् । त्यही अनुपातमा हाल जेङ्सको जोडीले मासिक तीन चार लाखको आम्दानी गरिरहेका छन् ।