उज्यालो प्रदेशका संवाददातामाथि कुटपिट, नेबिसंघ कार्यकर्ता विरुद्ध उजुरी

  • १६ चैत्र २०७५, शनिबार

मोरङको बेलबारीबाट संचालित उज्यालो प्रदेश डटकमका संवाददाता निकेश बराललाई कुटपिट गर्ने नेविसंघका कार्यकर्तालाई कारवाहीको माग गर्दै पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।
सुकुना क्याम्पसमा भईरहेको विद्यार्थीहरुको आन्दोलनको समचार संकलन गएका बराललाई शुक्रवार विहान नेविसंघको कार्यकर्ताहरुले कुटपिट गरेका थिए । मोवाईलबाट भिडियो खिचिरहेका बरालले आफू पत्रकार भएको अवगत गराउँदा गराउँदै नेविसंघका कार्यकर्ताहरुले कुटपिट गरेको पीडितले बताएका छन् ।
कुटपिटबाट बरालको टाउको सुनिएको छ भने देब्रे हातमा चोट लागेको छ । साथै उनको स्मार्ट फोन फुटेको छ । पीडित बरालले शुक्रवार दिउँसो इलाका प्रहरी कार्यालय बेलबारीमा नेविसंघ मोरङ क्षेत्र नं. ३ का सभापति होमनाथ पोख्रेल र तरुण दल मोरङ कोषाध्यक्ष नविन रिजाल विरुद्ध किटानी जाहेरी दिएका छन् ।

यसै बीच उज्यालो प्रदेश डटकम, पत्रकार महासंघ मोरङ,  प्रेस चौतारी र प्रेस सेन्टरले पनि एक विज्ञप्ति प्रकाशित गर्दै घटनाको भर्त्सना र दोषीलाई कारवाहीको माग गरेका छन् ।