सिंहदेवी सामुदायिक वनले गर्यो १५ औं साधारणसभा, निर्वाचन समिति गठन

  • १७ चैत्र २०७५, आईतवार

मोरङ केराबारी ९ देवीझोडास्थित सिंहदेवी सामुदायिक वनले १४ औं साधारण सभा गरेको १७ महिना र आर्थिक बर्ष समाप्त भएको ९ महिनापछि चैतमा बल्ल १५ औं अर्थात्  आर्थिक बर्ष २०७५/ ०७५ को साधारण सभा गरेको छ ।
केराबारी ९ स्थित बुद्ध माध्यमिक स्कुलको प्राङ्गणमा शनिबार भएको १५ औं साधारण सभाले  विभिन्न प्रतिवेदन पारित गर्नुका साथै नयाँ समितिको चुनावी प्रक्रियाका लागि निर्वाचन समिति चयन गरेको छ । साधारणसभाले यज्ञ प्रसाद सुवेदीको अध्यक्षतामा वन समितिले गठन गरेको निर्वाचन समितिलाई अनुमोदन गरेको हो ।
शनिबार भएको औपचारिक कार्यक्रमपछिको बन्द सत्रमा उपभोक्ताले वन समिति समक्ष विभिन्न प्रश्न तथा गुनासा राखेका थिए ।  अध्यक्ष भीम कार्कीले सबै कुरा स्पष्ट पार्दै कतिपय कुरा सुधार्ने प्रतिबद्धता व्यक्त गरेपछि प्रतिवेदनहरु पारित गरिएको थियो । साधारण सभाबाट नयाँ समिति गठन हुने अपेक्षा गरिएको भएपनि निर्वाचन प्रक्रियालाई सहज बनाउने हेतुले १० दिनभित्र नयाँ समितिको निर्वाचन गरिसक्ने गरी ९ सदस्यीय निर्वाचन समिति गठन गरिएको सिंहदेवी सामुदायिक वनले जनाएको छ ।
शनिबार भएको १५ औं साधारण सभाको उद्घाटन कार्यक्रममा केराबारी गाउँपालिका प्रमुख रोहितबहादुर कार्कीको प्रमुख आतिथ्यता र सामुदायिक वन उपभोक्ता महासंघ १ नम्बर प्रदेश सचिब अग्नि पौडेलको विशेष आतिथ्यता थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङकी महासचिव रेणुका दाहाल, सब डिभिजन वन कार्यालय केराबारीका प्रमुख बिक्रम अमात्य लगायत विभिन्न सामुदायिक वन र संघ संस्थाका प्रतिनिधिहरु अतिथि थिए ।
साधारण सभामा सिंहदेवी वनका अध्यक्ष भिम कार्कीले प्रगति तथा भावी योजना सहितका प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी सचिव वालकुमारी कट्टेलले सांगठनिक र कोषाध्यक्ष अग्नी कार्कीले लेखा परिक्षण सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्षको प्रतिवेदन अनुसार वनले आर्थिक बर्ष २०७४/०७५ मा २ करोड ४ लाख ६८ हजार ६ सय १५ रुपैयाँ आम्दानी भएको थियो ।
साधारण सभामा आन्तरिक लेखा समितिले पनि आर्थिक बर्ष २०७४/०७५ को प्रतिवेदन पेश गरेको छ । जसमा १२ वटा सबल पक्ष र १६ वटा दुर्बल पक्ष (सुधार गर्नुपर्ने पक्ष) देखाइएको छ । लेखा समितिले ठुलो खर्चलाई  समितिका सबै पदाधिकारी तथा उपभोक्ताबाट अनुमोदन गराएर मात्र खर्च गर्नुपर्ने, खातामा स्पष्ट देखिने गरी हिसाब किताब राख्नुपर्ने, लकडीको न्यायोचित बितरण गर्नुपर्ने, आफुखुशी नभई बैठकले गरेका निर्णय मात्र कार्यान्वयन गर्नुपर्ने, संस्थाको कारोबार बैंक मार्फत गर्नुपर्ने, गैर उपभोक्तालाई उपभोक्ता सरह लकडी दिन बन्द गर्नुपर्ने, योजनाको कार्यान्वयन तथा आर्थिक कारोबार अध्यक्षले गर्न छाडी उपभोक्ता समिति मार्फत गर्नुपर्ने जस्ता कुराहरू सुधार गर्न सुझाव दिएको छ ।

वन उपभोक्ता समुहहरुलाई गाउँपालिकासँग समन्वय गर्न आग्रह  
साधारण सभामा बोल्दै केराबारी गाउँपालिकाका प्रमुख रोहित बहादुर कार्कीले सामुदायिक वनहरुले स्थानीय तहसँग समन्वय नगरी काम गरेकोले बिकास निर्माण लगायतका काममा समस्या देखिएको बताए । उनले केराबारीका सामुदायिक वनहरुले गाउँपालिकालाइ आफ्ना गतिविधि, योजना र कारोबारको विवरण उपलब्ध गराउन आग्रह गरे । त्यसो गरेमा सामुदायिक वनमा आवश्यक पर्ने सहयोग गर्न र सहकार्यमा काम गर्न सहज हुने उनको भनाइ थियो । स्थानीय सब डिभिजन वन कार्यालयले समेेत गाउंँपालिकासँग समन्वय नगरेको उनले सुनाए । अध्यक्ष कार्कीले अहिलेका जनप्रतिनिधिको कार्यकालभित्र नै  सबैजसो मुख्य सडकहरु कालोपत्रे भैसक्ने बताए ।

वृद्धवृद्धा, एकल महिला र अपाङ्ग समेत गरी ८४ जना सम्मानित

१५ औं साधारण सभाको पुर्व सन्ध्यामा वनले एकल महिला, वृद्धवृद्धा र पुर्ण अपाङ्ग समेत गरी ८४ जना उपभोक्तालाई जनही १५०० नगद सहित सम्मान तथा पुरस्कृत गरेको छ । त्यसैगरी साधारण सभामा एकजना  उपभोक्ता, २ जना पशुपालक, एकजना कृषक, दुइजना शिल्पकार विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने एक एक जना छात्रछात्रालाई जनही १५ सयका दरले सम्मानित तथा पुरस्कृत गरिएको समुहका अध्यक्ष भिम कार्कीले वताए । त्यसैगरी  छ जना गरिब तथा जेहेन्दार छात्रछात्रालाइ पनि जनही १५ सयकै दरले छात्रवृत्ति ( पुरस्कार) दिइएको छ ।

भवन निर्माण तथा घायगद्दीका लागि जग्गा खरिद, पुरानो भवन भने अलपत्र

सामुदायिक वनले घाटगद्दी र कार्यालयको लागि अघिल्लो बर्ष ८ कठ्ठा र  यसै बर्ष २ कठ्ठा गरी १० कठ्ठा जग्गा खरिद गरेको छ । यस अघि घाटगद्दीका लागि आफ्नै जग्गा थिएन । वनको लागि आफ्नै भवन भएपनि धेरै बर्षदेखि पदाधिकारीको घर घरबाट कारोबार र कार्यालय संचालन गरिदै आएको छ । त्यसैले समितिको भवन अलपत्र अबस्थामा पुगेको छ । झण्डै स्थापना कालदेखि नै वनले कारोबारको लागि कर्मचारी समेत राखेको छैन । पारदर्शी कारोबार नभएको कारण यस अघिको समिति भएका बेला अख्तियारमा उजुरी समेत परेको थियो । एक दुई बर्षयता एक जना कर्मचारीको ब्यबस्था गरिएको भएपनि अझैसम्म ब्यबस्थित कार्यालय छैन ।

कुल २ सय ५० हेक्टर क्षेत्रफल भएको सामुदायिक वनमा ३ सय ६२ घर उपभोक्ता छन् ।