बारा र पर्सामा हावाहुरीपछि यस्तो छ हालको अवस्था (भिडियो सहित)

  • २३ चैत्र २०७५, शनिबार



गोपाल काफ्ले / चैत्र १७ गते आएको बिनासकारी हावाहुरीले प्रभावित बनेको प्रदेश २ को बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर टोलमा ५ सय ५० घरधुरी रहेकोमा ५०० बढी घरहरु पुर्ण रुपमा क्षतीग्रस्त बनेका छन्  ।  साँझको समयमा भएको उक्त अकल्पनीय घटनामा ३ हजार जनसंख्या घरबार बिहिन भएसँगै दैनिकी कष्टकर बनिरहेको छ ।

एकद्धार राहत वितरण प्रणाली नभएका कारण राहतको कमी महसुस गरेका परवानिपुर ४ का बासिन्दा पथरी उद्योग बाणिज्य संघको राहत सामाग्री देख्नासाथ उत्साहित देखिन्थे ।

सो वडाका दलित पीडितहरुले भने राहत वितरणमा आफुहरुलाई जनप्रतिनिधीले उपेक्षा गरेको गुनासो गरेका छन् । आफुहरु दलित भएकै कारण जनप्रतिनिधिहरुद्वारा राहत वितरणमा भेदभाव हुने गरेको एक स्थानियले बताए ।

हावाहुरी पिडितको अपेक्षा अनुरुप राहत वितरण हुन नसकेको तर प्राप्त भए अनुसारको राहत वितरणमा भने निश्पक्ष भएको गाँउपालिका अध्यक्ष हरि नारायण शाहले बताए ।

बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो ठाउँमा हावाहुरीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

यसैगरी कलैया–१२ धर्मनगरस्थित काजल इँट्टाभट्टामा कार्यरत चार भारतीय मजदूरको मृत्यु भएको छ । हावाहुरीले फेटा गाउँपालिकाको भरवलिया टोलमा विजुलीको पोल ढलेर चार जनाको मृत्यु भएको छ । जिल्लाको तेलकुवा, सुवर्णपुर, प्रसौनी, भलुही, पशुरामपुर, हर्दिया लगायतका ठाउँमा समेत मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।

हावाहुरिबाट घाईते भएर उपचार गराईरहेका कलैया अस्पतालका ४० घाइतेको प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापालगायतले स्थलगत निरीक्षण गरी घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो । साथै उहाँहरुले नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

हावाहुरीबाट पर्सामा समेत असर पुर्याएको छ भने हेटौँडाबाट वीरगञ्जतर्फ आइरहेको ना ६ ख ९३६० नंको बसमा बिजुलीको खम्बा खस्दा वीरगञ्ज महानगरपालिका–१२ का १८ वर्षीय सरोज रामको मृत्यु भएको थियो ।

हावा हुरीका कारण बारा पर्साका केहि स्थानमा टेलिफोन लाइन र विजुलीका खम्बा ढल्नुका साथै हावाहुरीले घरको छाना उडाएपछि पीडित रूखमुनि पाल टाँगेर बस्न बाध्य छन ।

प्रभावित क्षेत्रमा बारा जिल्ला प्रसासन कार्यालय र कलैया उध्योग बाणिज्य संघको सहयोग लिदै पथरी उध्योग बाणिज्य संघले पिडितलाई  खाद्यान्न , लत्ताकपडा सहित दैनिक उपभोग्य बस्तु वितरण गरेको छ ।

पथरीका केहि सस्था पथरी र लेटाङ्गका संचारकर्मीहरु लगायतका संघ संस्थालेे स्थलगत अनुगमन गर्दै  ३ लाख रुपैयाँ बढीको राहत संकलन गरी वितरण गरिएको हो ।