बेलबारीका सोमबहादुरका दुवै मृगौला फेल, जीवन रक्षाका लागि सहयोगको अपील

  • २२ बैशाख २०७६, आईतवार

दुवै मृगौला फेल भएका बेलबारी १ निवासी ४४ बर्षिय सोम बहादुर श्रेष्ठको जीवन बचाउन परिवारजनले सहयोगको अपील गरेका छन् ।

श्रेष्ठ बिरामी भएपछि चेकजाँचका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो । त्यहीँ उनको मृगौला फेल भएको पत्ता लागेको थियो । सकेसम्म चाँडै सहयोग जुटाइ श्रेष्ठलाई उपचारका लागि काठमाडौं लैजाने योजना गरिएको छ । आर्थिक अबस्था कमजोर भएका श्रेष्ठको जीवन बचाउन परिवारजनले सहयोगको अपील गरेका हुन् । नेवा देय दवु बेलबारी नगर समितिले बेलबारीस्थित मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा आइतबार गरेको छलफलमा परिवार र आफन्तले डायलोसिस र मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले सक्दो सहयोग गरिदिन देश बिदेशमा रहेका सबैमा याचना गरेका छन् । सोमबहादुरका दाजु खेमराज श्रेष्ठले परिवारजनको मृगौला मिलेमा र कोही दिन तयार भएमा १५/२० लाख लाग्ने र त्यसो नभए त्योभन्दा बढी खर्च हुने बताए ।  

छलफल कार्यक्रममा बेलबारी १ का वडाध्यक्ष चक्र खुलाल, ब्यबशायी तथा राजनीतिज्ञ केदार अधिकारी, नेता तथा समाजसेवी राजकुमार लिम्बु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सोमबहादुरका आफन्त र परिवारजनको उपस्थिति थियो ।

आइतबार भएको छलफलबाट सोम बहादुर श्रेष्ठको जीवन रक्षा अभियानका लागि गंगाबहादुर श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय आर्थिक सहयोग संकलन गर्न समिति पनि गठन गरिएको छ ।

समितिमा बलबहादुर सुब्बा सह संयोजक, बाबुराम श्रेष्ठ सचिव र तिलबहादुर श्रेष्ठ कोषाध्यक्ष छन् । सदस्यहरुमा प्रगति मोक्तान, अमृता गुरुङ, ज्ञानु श्रेष्ठ, सन्तोष श्रेष्ठ चयन भएका छन् । तीन सदस्य पछि थप गरिने सोमबहादुर श्रेष्ठ बचाउ अभियानका संयोजक गंगाबहादुर श्रेष्ठले बताए । समितिको अगुवाईमा विभिन्न स्थानमा सहयोग संकलन गरिने बताइएको छ ।

समितिले राष्ट्रिय बाणिज्य बैंक र लक्ष्मी बैंकमा खाता खोल्ने निर्णय गरेको छ । नवगठित समितिले सोमबहादुर श्रेष्ठको जीवन बचाउन सहयोगका लागि सबैमा अपील गरेको छ ।

६ दाजुभाइ मध्ये काहिंलो भाइ सोम सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । श्रेष्ठका एक छोरा र दुई छोरी छन् । दुवै छोरीको विवाह भइसकेको छ ।

कक्षा ११ मा अध्ययनरत छोरा रविन श्रेष्ठलाई एघारदेखि डिभ्लोमा पुरा गरुन्जेल पढाइमा लाग्ने सम्पूर्ण खर्च ब्यबशायी तथा समाजसेवी केदार अधिकारीले ब्यहोर्ने घोषणा गरेका छन् ।