बेलबारीमा दोस्रो मेयरकप फुटबल शुरु, उद्घाटन खेलमा बेलबारी ६ बिजयी
- ३१ बैशाख २०७६, मंगलवार
मोरङको बेलबारीमा सोमबारदेखि वडास्तरीय मेयरकप शुरु भएको छ ।
बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सो मेयरकपको उदघाटन गरेका छन । जेठ ९ गतेसम्म सञ्चालन हुने अन्तर वडास्तरीय नगर मेयर कपमा बेलबारीका ११ वटा वडाका ११ वटा टिम सहभागी हुने भएका छन । बेलबारी ४ पञ्चज्योति स्कुल सँगै रहेको बेतना खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र,उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र वढी गोलकर्ता खेलाडीलाई जनही ५ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजक समितिका अध्यक्ष हेमकुमार गुरुङ (गजेन)ले जानकारी दिए ।
बेलबारी नगरपालिकाको ८ लाख ५० हजार रुपैयाँको बजेटमा प्रतियोगिता गर्न लागेको हो । अन्तर वडा प्रतियोगिता पछि मोरङ जिल्ला अन्तर पालिका स्तरिय प्रतियोगिता समेत आयोजना गर्ने समितिले जनाएको छ । जिल्लाका १७ वटै पालिकाबाट टिम सहभागी हुनेछन् । जुट्छ,खेल्छ अनि अघि बढ्छ बेलबारी भन्ने नाराका साथ दोस्रो बेलबारी नगरपालिका अन्तर वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता शुरु भएको आयोजक समितिका सचिव मिलन राईले जानकारी दिएका छन ।
उद्घाटन खेलमा वडा नम्बर ६ विजयी
सोमबार शुरु भएको मेयरकप फुटबल प्रतियोगितामा अन्र्तगत पहिलो खेलमा वडा नम्बर ६ ले वडा नम्बर ९ लाई दुई शुन्य गोल अन्तरले पराजित गरेको छ ।
खेल सुरु भएको ७ मिनेटमै बेलबारी ६ का जोन मगरले पहिलो गोल गरेका थिए । खेलको २५ औ मिनेटमा उनले नै थप एक गोल गरेका थिए । खेलको हाप समयपछि दुवै वडाका खेलाडीले गोल गर्न सकेनन् । उद्घाटन खेलको म्यान अफ म्याच वडा नम्बर ६ का जोन मगर घोषित भए ।
पहिलो चरणमा वडास्तरीय मेयर कप सोमबारदेखि सुरु भएको हो । दोस्रो चरणमामा अन्तर पालिका स्तरीय फुटवल प्रतियोगिता हुने मेयरकप आयोजक समितिले जनाएको छ ।
मंगलवार बेलबारी ५ र ७ नम्बर वडा विच खेल हुने आयोजकले जनाएको छ ।