केराबारी गाउँपालिकाद्वारा पाटीगाउँका बिपन्न दलित नौ परिवारलाई जस्तापाता बितरण

  • ८ जेष्ठ २०७६, बुधबार

आर्थिक अवस्था कमजोर भई बर्षौदेखि फुसको छाना भएको घरमा बस्दै आएका केराबारी १ पाटीगाउँका ९ बिपन्न दलित परिवारलाई मोरङको केराबारी गाउपालिकाले रंगिन जस्ता पाता वितरण गरेको छ ।

गाँसबास कपासको जोहो गर्न  धौधौ पर्ने गरीब तथा विपन्न परिवारको फुसको छाना हटाउने अभियान अन्र्तगत केराबारी गाउँपालिकाले पाटीगाउँका ९ घर परिवारलाई सोमबार जस्ता पाता वितरण गरेको हो ।

उनीहरूलाई  प्रतिघर ३ बण्डलका दरले जस्तापाता बितरण गरिएको छ । जस्तापाता पाउनेमा चन्द्रवहादुर दर्जी , मानवहादुर परियार, देवेन्द्र परियार, रामलाल विक, दिलमाया विक, हस्तवहादुर विक, तिलमाया विक, उपेन्द्र विक र शुजनध्वज लिम्बु छन् ।

गाउंँपालिकाका अध्यक्ष रोहित वहादुर कार्की, उपाध्यक्ष शान्ति कुमारी भूजेल, दलित हकहित समन्वय समितिका अध्यक्ष चुरानसिंह विक सहित राजनीतिक दलका प्रतिनीधि वडाध्यक्ष सहितको टोलीले पाटीगाउँमा पुगेर जस्तापाता बितरण गरेका थिए ।

वडा नम्बर ३,९र १० बाहेक अन्य वडामा रहेका विपन्न दलित परिवारलाई गाउपालिकाले जस्ता पाता वितरण गरेपछि स्थानीय दलित समुदाय खुशी भएका छन् । गाउपालिको यो वर्ष १० लाख रुपैयांँ रकम जस्ता पाता वितरण गर्न रकम छुट्याएको मध्ये हाल सम्म वडा नं. ९ को बेलचौरी मा ३३ घरपरिवारमा २ लाख बराबरको जस्ता पाता बितरण गरेको छ । बाँकी वडामा भने चाडै विपन्न परिवारको पहिचान गरी बितरण गरिने कार्यक्रम रहेको दलित हकहित समन्वय समितिका अध्यक्ष चुरानसिंह बिकले बताए ।