केराबारीसहित मोरङका स्थानीय तहहरुमा शिक्षक संघले बुझायो शैक्षिक अबधारणापत्र  

  • ३ असार २०७६, मंगलवार

नेपाल शिक्षक संघको अगुवाइमा शिक्षकहरुले मोरङका सबै स्थानीय तहहरुमा शैक्षिक गुणस्तर बृद्वि तथा बिकासका लागि अबधारणापत्र बुझाएका छन् ।

कांग्रेस निकट शिक्षक संघको नेतृत्वमा शिक्षकहरुले सोमबार सो अबधारणापत्र बुझाएका हुन् ।

सो क्रममा मोरङकै केराबारीका शिक्षकहरुले पनि केराबारी गाउँपालिकामा १३ बुँदे अबधारणापत्र बुझाएका हुन् । नेपाल शिक्षक संघ स्थानीय एकाइ समिति केराबारीको नेतृत्वमा गाउँपालिका परिसरमा भेला भएका शिक्षकहरुको एक समूहले गाउँपालिका अध्यक्ष तथा शिक्षा शाखा संयोजक रोहित बहादुर कार्कीलाई सो अबधारणापत्र बुझाएका हुन् । शिक्षक संघका केराबारी इकाई सचिव तथा जिल्ला सहजकर्ता चन्द्र भण्डारीको सहजीकरणमा शिक्षक संघ केराबारी अध्यक्ष नारायण ढकालले सो अबधारणापत्र बुझाएका थिए  ।

५ पृष्ठ लामो अबधारणापत्रमा शैक्षिक गुणस्तर, भौतिक सुधार, शिक्षक ब्यबस्थापन, प्राबिधिक शिक्षा ब्यबस्थापन, शिक्षक तालिम, विद्यालय ब्यबस्थापन, विद्यार्थी सुविधा, विद्यालय कर्मचारी, बाल बिकास शिक्षक, राहत शिक्षक, शैक्षिक निति निर्माण, बजेट ब्यबस्थापन र सहयोग ब्यबस्थापन जस्ता १३ शिर्षक समेटिएका छन् ।

अबधारणापत्रमा केराबारीभरिका सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यममा पठनपाठन गराउने ब्यबस्थाका लागि गाउँपालिकाले आवश्यक नितिगत र आर्थिक ब्यबस्थापन गर्नुपर्ने बिषय पनि समेटिएको छ । केराबारी गाउँपालिकाभित्र शैक्षिक क्षेत्रमा खासगरी सामुदायिक विद्यालयमा रहेका समस्या समाधान गर्न सहज होस् र गाउँपालिकाको आउन लागेको बजेटमा शैक्षिक क्षेत्रमा आबश्यक रकम बिनियोजन होस् भन्ने हेतुले सकारात्मक सोचका साथ अबधारणापत्र बुझाइएको शिक्षक संघ केराबारी अध्यक्ष नारायण ढकालले बताए ।

अबधारणापत्र बुझाउने कार्यक्रममा केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद पौडेल लगायतको उपस्थिति थियो ।

अबधारणापत्र बुझ्दै गाउँपालिका अध्यक्ष कार्कीले शिक्षक संघले बुझाएको अबधारणापत्रमा समेटिएका सुझाव निकै रचनात्मक भएकोले त्यस्ता सुझाव  र समस्याहरुलाइ शिक्षा समितिमा छलफल गरी पेशागत संघसंस्था, कर्मचारी र सरोकारवालाहरुको समेत परामर्श र सर सहयोगमा गाउँपालिकाले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत पुण्यप्रसाद पौडेलले शैक्षिक क्षेत्र र शिक्षाको गुणस्तर  सुधारका लागि शिक्षक संघले तयार गरेको नितिगत, ब्यबस्थापकीय र प्राबिधिक पक्ष समेटेर गाउपालिकाले बजेट ल्याउने प्रतिबद्धता जनाए ।