बेलबारीमा मोरङ अन्तर पालिका स्तरीय मेयर कप शुरु, उद्घाटन खेलमा केराबारी बिजयी

  • १३ असार २०७६, शुक्रबार

मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कप शुरु भएको छ  ।

बेलबारी नगरपालिकाको सहयोग र आयोजनामा असार १३ देखि २१ गतेसम्म हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको शुक्रबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले बेलूनहरु उडाएर उद्घाटन गरेका छन् ।

कानेपोखरीलाई ३-० गोलले पराजित गर्दै केराबारी बिजयी

उद्घाटन खेलको प्रतिस्पर्धामा कानेपोखरीलाई ३-० गोलले पराजित गर्दै केराबारी बिजयी भएको छ ।

 खेल शुरु भएको १० मिनेटमा नै कानेपोखरीका क्याप्टेन तथा गोल किपर प्रकाश कार्कीले रातो कार्ड पाएपछि कानेपोखरी कमजोर बनेको थियो । डि-बक्स बाहिर आएर हातले बल हानेपछि निर्णायकले सिधै रातो कार्ड दिएका थिए । शुरुदेखि दबाबमा परेको कानेपोखरीका मैदानका खेलिरहेका अर्का एक खेलाडीको ठाउँमा आएका दोस्रा गोलकिपरले केराबारीको चर्को दबाब खेप्नुपरेको थियो । तापनि पहिलो हाप र अतिरिक्त समयसम्म कुनै पनि टीमले गोल गर्न नसक्दा दुवै टिम शुन्य शुन्यकै अबस्थामा रहेका थिए ।

पहिलो हाफ गोलरहित भएको खेलको दोस्रो हाफमा केराबारीले तीन गोल गर्न सफल भयो । खेलको ४७ र ६१ औ मिनेटमा केराबारीका जर्सी नम्बर ७ का मनिस लिम्बुले गोल गरे भने ५१ मिनेटमा जर्सी नम्बर १० का भुवन बस्नेतले गोल गरेका थिए । शुक्रवारको खेलमा दुई गोल गर्न सफल लिम्बु नै म्यान अफ द म्याच घोसित भए ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आङ्वोले खेलकुद देशको आर्थिक समृद्धिको आधार भएको बताए । उनलेे प्रदेश सरकार खेलकुदको बिकासका लागि अग्रसर भएकोले नै खेलकुद क्षेत्रमा ४५ करोड बजेट बिनियोजन गरेको बताए ।

उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, सबै वडाका वडाध्यक्षहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

शुक्रबार भएको उद्घाटन खेलमा आयोजक बेलबारी निलो र केराबारी गाउँपालिकाको टिमबीच प्रतिस्पर्धा हुने पुर्व कार्यक्रम भएपनि बेलबारी निलोको स्थानमा कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिकाको टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा जिल्लाका ११ वटा स्थानीय तहका  १२ टीम सहभागी छन् ।

खेल तालिका अनुसार समूह ए मा कानेपोखरी, केराबारी, लेटाङ, बिराटनगर, बेलबारी निलो र उर्लाबारी छन् । त्यसैगरी समूह बी मा सुन्दरहरैँचा, रतुवामाइ, बेलबारी रातो, ग्रामथान, मिक्लाजुङ र पथरीशनिश्चरे गरी ११ वटा स्थानीय तहका १२ वटा टिमबिच प्रतिस्पर्धा हुनेछ । असार १४ अर्थात शनिबारको खेल रतुवामाइ र सुन्दरहरैँचा नगरपालिकाबिच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिजयी टिमलाई १ लाख ५१ हजार तथा उपबिजेतालाई १ लाख १ हजार नगद सहित मेडल र ट्रफी उपलब्ध गराउने आयोजक मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कप आयोजक समितका  सचिव मिलन राईले जानकारी दिए ।

स्मरणीय के भने अघिल्लो बर्षबाट मेयरकप आयोजना गर्न थालेको नगरपालिकाले गत बैशाखमा पनि बेलबारी नगरभरीका वडाहरुको प्रतिस्पर्धामा दोस्रो मेयर कप आयोजना गराएको  थियो ।