स्कुले किशोरीहरुलाइ सेनेटरी प्याड बनाउन सिकाउँदै बेलबारी जेसिज, किशोरीहरु दंग 

  • ३ भाद्र २०७६, मंगलवार

बेलबारी जेसिजको आयोजनामा मोरङको बेलबारी नगरपालिका भरीका विद्यालयका किशोरीहरुका लागि यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम शुरु भएको छ । 

सबै वडाका विद्यालयहरुमा यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा र घरेलु सेनेटरी प्याड निर्माण तालिम गर्ने योजना अन्तरगत मंगलबार बेलबारी ८,९,१० र ११ का विद्यार्थीलाई तालिम दिइएको छ । बेलबारी ११ स्थित लक्ष्मी माविमा भएको कार्यक्रमको पहिलो चरणमा उद्घाटन कार्यक्रमसँगै यौन हिंसा तथा प्रजनन स्वास्थ्य शिक्षा दिइएको थियो । उद्घाटन कार्यक्रममा दर्जनभन्दा बढी विद्यालयका प्रधानाध्यापकहरु, जेसिजका पुर्व अध्यक्ष राजन प्रसाईं, उद्योग बाणिज्य संघ बेलबारीका उपाध्यक्ष राजेशजंग कार्की लगायत जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, सञ्चारकर्मी र जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालको सभापतित्वमा भएको कार्यक्रममा भएको कार्यक्रममा बेलबारी ११ का वडाध्यक्ष यमबहादुर पोख्रेल (राजन) को प्रमुख आतिथ्यता थियो । 

अर्को चरणमा संचालित घरेलु सेनेटरी प्याड निर्माण तालिममा चारवटा वडाका झण्डै सय किशोरीहरु सहभागी भएका छन् । सो तालिममा सामाजिक अभियन्ता तथा ब्यबशायी सुनिता हुमागाइँ लगायतले तालिम दिएका छन्  । तालिम अन्यन्त राम्रो र उपयोगी भएको सहभागी किशोरीहरुले बताएका छन् ।

जेसिजले तय गरेको कार्यक्रम अनुसार बुधबार बेलबारी वडा नं ५, ६, ७ का विद्यालयका किशोरीहरुका लागि  धनपाल माविमा र बिहीबार बेलबारी १,२,३ र ४ वडाका लागि कसेनी माविमा घरेलु सेनेटरी प्याड निर्माण तालिम दिने कार्यक्रम रहेको बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालले बताए ।