सहाराका अध्यक्ष शिवले निकाले बिज्ञप्ति, आत्मालोचनाको सट्टा पार्टी र समाजलाई दोष

  • २४ भाद्र २०७६, मंगलवार

पछिल्लो समय संस्थाको जग्गा बिक्री काण्डमा बिवादित  सहारा परिवार बेलबारीका अध्यक्ष शिव बरालले दुई तीन हप्तापछि बल्ल मुख खोलेका छन् ।

मोरङको बेलबारी २ मा रहेको साहारा बालग्रामको जग्गा ब्यक्तिलाइ बेच्ने कार्यमा संलग्न भनिएका सहारा परिवारका अध्यक्ष तथा बेलबारी गाबिसका पुर्व अध्यक्ष शिवप्रसाद बरालले नेकपा बेलबारीलाई अदालतको संज्ञा दिँदै रोष समेत प्रकट गरेका छन्  ।
उनले नेकपाको बेलबारी अदालतले कारबाहीको सिफारिस गरेको प्रति दुुुुखेसो व्यक्त गरेका छन । पार्टी भित्रकै ब्यत्तिहरुले सामाजिक सञ्जालको दुरुपयोग गर्दै आफुलाई दुनिँयाको सामु अपराधीको रुपमा प्रस्तुत गरेको भन्दै उनले गुनासो पोखेका छन । हालै सार्वजनिक गरिएको तर मिति उल्लेख नभएको प्रेस बिज्ञप्तीमा उनले आफुलाई कारबाहकिो सिफारिस गरेको निर्णय हास्यास्पद भएको समेत बताएका छन ।

प्रेस बक्तब्यमा बरालले सहारा परिवारको जग्गामा रोजगारीको श्रृजना गर्न, पर्यटन प्रवद्र्धन गर्न, बेलबारीको एउटा आकर्षण बनाउन एवं सिपको बिकास गर्न  तथा खोजिएको दाबी गर्दै  थोरै जमिन हुनेहरुले पनि राम्रो मुल्य पाउने बस्तुहरुको खेती लगायत अवसरमुुुलक कामहरु सम्पन्न गर्ने प्रयास गरिएको तर आफुलगायत केहि बेलबारीबासी नेकपाका नेताहरुलाई कलंकित गराईएको जिकिर गरेका छन् ।

आफु सानैदेखि पार्टी र समाजका लागि इमानदारी पुर्वक योगदान गरेको भएपनि तत्कालीन एमालेले आफुलाई पटक पटक पार्टीको काम गर्ने अबसरबाट समेत बञ्चित गरेको र एमाले र माओबादीको एकतापछि पनि आफुलाई त्यस्तै गरिएको उनको गुनासो छ । बिज्ञप्तिमा पार्टी भित्रको गुट, पूर्वाग्रह, दुराग्रह, संकिर्णता र षडयन्त्रलाइ सहारा काण्डको मुख्य कारण देखाइएको छ ।  तर आत्मालोचनाको आशय प्रकट भएको छैन ।

पछौटे समाजमा राम्रो कामको बिरोध हुने गरेको भन्दै आफुले गरेको काम राम्रो भएको उनको दाबी छ । उनले बिज्ञप्तीमा भनेका छन् ‘ राम्रो कामको पछौटे समाजमा बिरोध हुन्छ,पछि बुझेपपछि सोही कामको समर्थन हुन्छ ।’

बिज्ञप्तीमा उनले पार्टीप्रति रोष मात्र प्रकट गरेका छैनन् , निराशा समेत पोखेका छन । गत माघमा इटहरीका डम्बर तामाङको नाममा पास गरी बिक्री भएको साहाराको जग्गा भने संस्थाकै नाममा फिर्ता भइसकेको छ ।

सहारा काण्डमा नाम मुछिएका पुर्ब सांसद हर्कमान तामाङले एक संस्मरण लेखेर अकम्युनिष्ट भएको अर्थात कम्युनिष्ट छाडेको घोषणा गरिसकेका छन ।