मोरङको बेलबारीमा पहिलोपटक हुनेभो डोरीतान खेल प्रतियोगिता

  • २९ भाद्र २०७६, आईतवार

मोरङको बेलबारीमा पहिलोपटक डोरीतान खेल  प्रतियोगिता हुने भएको छ ।
बेलबारी डोरीतान नगर समितिको आयोजनामा भाद्र ३० गते माध्यमिक विद्यालय स्तरीय प्रतियोगिता हुने भएको हो । आयोजकले शनिबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार भाद्र ३० का दिन बेलबारी – ६ स्थित यलम्बर खेल मैदानमा डोरीतान खेल प्रतियोगिता संचालन हुनेछ  ।
आयोजकका अनुसार प्रतियोगितामा बेलबारी नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत गरी २६ वटा विद्यालयहरुको सहभागिता रहनेछ । तौल समुहका आधारमा समुहगत रूपमा खेलाइने  खेलका प्रत्येक प्रतिस्पर्धाका तीन खेल हुने र दुई खेल जित्ने टीम बिजयी हुने आयोजक बेलबारी डोरीतान नगर समितिकी  अध्यक्ष शितल रायले बताइन् । सो प्रतियोगितामा ६४० सम्मको तौल समुहबाट माध्यमिक तहका छात्रहरुले प्रतिस्पर्धा गर्नेछन् । एउटा टीममा ८ खेलाडीले डोरी तान्नेछन् ।
प्रत्येक टीमबिचको प्रतियोगिताका बिजेता समूह बिजेता हुने र सो टोलीले अर्को समूह बिजेता टोलीसँग  प्रतिस्पर्धा गरेपछि बिजेता टुंगो लाग्नेछ  ।
प्रतियोगिताका बिजेता टीमले  ११ हजार १ सय १ रुपैयाँ नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र तथा उप बिजेताले ७ हजार १ सय १ रुपैयाँ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक बेलबारी नगर सचिव टेकनाथ शर्माले बताए ।
कुल १ लाख ७ हजार दुइ रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि बेलबारी वडा नम्बर ६ ले ५० हजार सहयोग गरेको छ । आयोजकबाट  २० हजार ७ सय दुई रुपैयाँ जुटाइएको र बाँकी रकम सृजना सामुदायिक वन, बेलबारी नगरपालिका १,३, ८ र ११ वडा लगायत विभिन्न ब्यक्ति तथा संघ संस्थाबाट जुटाइएको आयोजक समितिकी अध्यक्ष रायले बताइन् ।
प्राचीन कालदेखि प्रचलित भएपनि हाल लोपोन्मुख भइसकेको डोरीतान खेलको प्रबर्द्धन तथा बिकाशका लागि मोरङमा २०७४ सालमा डोरीतान खेलको जिल्ला समिति गठन भएको थियो । बेलबारीमा भने दुई तीन महिना अघि गत जेठमा बेलबारी डोरीतान नगरसमिति गठन भएको थियो ।

त्यसो र मोरङ र सुनसरीमा केही बर्षयता डोरीतान खेलका जिल्ला तथा स्थानीय समितिहरु सक्रिय बन्दै गएका छन् । डोरीतान मोरङ जिल्ला समिति उपाध्यक्ष अशोक अधिकारीले गत जेठ ५ गते भएको १ नम्बर प्रदेशस्तरीय प्रतियोगिता भएको र त्यसमा मोरङ बिजेता बनेको बताए । थाइल्यान्डमा यसैहप्ता आयोजित डोरीतानको अन्तर्राष्ट्रिय  प्रतियोगिताका लागि मोरङ र सुनसरीबाट ८ जना डोरीतान खेलाडी सहभागी भएको उनले जानकारी दिए । डोरीतान खेललाई पनि राष्ट्रिय खेल घोषणा गर्न पहल भइरहेको बताउँदै अधिकारीले  निकट भबिष्यमै मोरङमा सार्क स्तरीय डोरीतान प्रतियोगिता आयोजना गर्नका लागि  प्रदेश १ को सामाजिक बिकास मन्त्रालयमा प्रस्ताव पेश गरिएको बताए ।