तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप शुरु, उद्घाटन खेलमा धरान  बिजयी

  • ४ आश्विन २०७६, शनिबार

तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता शुरु भएको छ । 

डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको बेलबारी लक्ष्मीमार्ग ११ स्थित लक्ष्मी खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । शनिबार बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् । 

यसअघि लक्ष्मीमार्ग गोल्ड कपको नामबाट आयोजना हुने गरेको गोल्डकप यसै बर्षदेखि नाम परिवर्तन गरी बेलबारी गोल्डकप बनाइएको हो । प्रतियोगितामा नेपाल, भुटान र भारतका गरी आठवटा टीम सहभागी छन् ।

औपचारिक कार्यक्रमपछि निर्धारित समयभन्दा निकै ढिलो गरी झण्डै साढे ४ बजेपछि मात्र उद्घाटन खेल शुरु भएको थियो । ढिलो भएका कारण खेल ७० मिनेटमा छोट्याइएको थियो ।

शनिबारको उद्घाटन आयोजक डाँगीहाट युथ क्लब र धरान फुटबल क्लबबिच भएको खेलमा आयोजकलाई ट्राइब्रेकरमा तीनका विरुद्ध चार गोल गर्दै धरान बिजयी भएको छ ।

खेलको पहिलो हापसम्म दुवै टीमबिच कडा टक्कर भएको थियो । त्यसमा पनि आयोजकभन्दा धरान बढी आक्रामक देखिएको थियो । दुवैतर्फबाट पोष्टमा हानिएका गोल किपरले असफल बनाएदिएका थिए । दोस्रो हाफमा पनि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि ट्राइब्रेकर निर्णय लिइएको थियो । जसमा आयोजक दुई गोल गर्न चुकेपछि धरान बिजयी भएको थियो । शनिबारको खेलमा धरानका गोलकिपर लक्की कार्कीम्यान अफ द म्याच घोषित भए ।

आइतबारको दोस्रो खेल झापा ११ र एपीएफ काठमाण्डौंबिच हुनेछ ।

प्रतियोगितामा आयोजक डाँगीहाट फुटबल क्लब, धरान फुटबल क्लब, मदन भण्डारी एकेडमी, काठमाण्डौ, गोर्खा गाइज क्लब भुटान, झापा ११, एपीएफ काठमाण्डौं, नेपाल पुलिस क्लब काठमाण्डौं र रोयल क्लब वेष्ट बंगाल (भारत) गरी आठवटा टीम सहभागी छन् ।

मोरङ जिल्ला फुटबल संघले प्राबिधिक सहयोगमा भएको प्रतियोगितालाई बुद्ध एयरले मुख्य प्रायोजन गरेको छ भने टुबोर्ग बियरले सह प्रायोजन गरेको छ । त्यसैगरी बेलबारी नगरपालिका गोल्डकपको विशेष सहयोगी रहेको छ । प्रतियोगिताका लागि नगरपालिकाले ५ लाख ५१ हजार सहयोग गरेको छ ।

प्रतियोगितामा उपाधी हात पार्ने टीमले ५ लाख नगदसहित ट्रफी , मेडल र प्रमाणपत्र तथा उपबिजेताले ३ लाख नगद, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । – अम्बिका भण्डारी