सपनाको संसार मार्फत समाजकै पहिचान बदल्दै बिजय, बेलबारीमा यसरी बन्यो ‘ड्रिमल्याण्ड’
- ९ मंसिर २०७६, सोमबार
मानिसले देख्ने सपना र सपना साकार पार्न गरिने संर्घषले एउटा मान्छेको भाग्य मात्रै होइन, समाज नै पनि बदल्न सक्छ । मान्छेले ठाउँ पायो भने उसको जीवन बदलिन सक्छ तर ठाउँले मान्छे पायो भने समाज नै परिवर्तित र बिकशित बन्न सक्छ । यही सत्यका एक उदाहरण हुन् मोरङ बेलबारीका बिजय सुवेदी र श्रीमती सुषमा आचार्य (सुवेदी) को जोडी ।
बिजय सानै छँदा बेलबारीमा सामान्य होटल बाहेक खासै केही थिएनन् । बिजयलाई सानैदेखि आफु जन्मेको ठाँउमा केही गर्ने सोच थियो । तर के गर्ने भन्ने यकिन थिएन ।
उनकी आमाको सपना थियोे छोराले होटल क्षेत्रकै अध्ययन गरोस् र त्यही क्षेत्रमा नै केही गरोस् । बिजयलाइ आमाले भनेको बिषय पढ्ने खासै रुची थिएन । उनलाई खासमा आइटी अध्ययन गर्न मन थियो । तर आमाले भनेको कुरा नकार्न पनि सकेनन् । त्यसैले एकपटक होटल म्यानेजमेन्ट कलेजमा गइ हेरौं, मन परे पढौंला, मन नपरे घर फर्किएर आफैले चाहेको बिषय पढौंला भन्ने लाग्यो । आमाको इच्छा बमोजिम बिजय पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पुगे । त्यहाँ पुगेर क्याम्पस प्रमुख कमल पन्तलाई भेटेपछि अर्को क्षेत्रमा फर्किन त के सोच्न पनि मन लागेन । त्यसैले उनले त्यही फिल्ड रोजे ।
बैवाहिक जीवनको क्रममा करिब ३ बर्षअघि काठमाण्डौँको आरामदायी र बिलासी जीवनलाई चटक्कै छोडेर आफ्नै ठाउँमा फर्केपछि बिजयले आफ्नी जीवन संगीनीसँगको सहकार्यमा नयाँ योजना बनाए । दम्पतीको सल्लाह अनुसार बेलबारी ३ स्थित नयाँ मालपोतदेखि पुर्वपट्टी रहेको १४ कठ्ठा खाली जगामा फनपार्क बनाउने योजना बन्यो र नामाकरण गरियो सपनाको नगरी अर्थात ‘ड्रिमल्याण्ड’ ।
तर त्यो जग्गामा ‘ड्रिमल्याण्ड’ बनाउन त्यति सजिलो थिएन । गाइबस्तु चर्न पनि असहज हुने सो जग्गा धाबी थियो । पहिले त त्यो जग्गा देख्दा बिजयलाइ पहिले त लाग्थ्यो यस्तो धाबी जग्गालाई प्लटिङ गरेर बेचिदिउँ कि क्याहो ! तर बिजयले त्यो धाबी १४ कट्ठा जम्मीनलाइ नै डेढदेखि पाँच छ फुटसम्म पुरे । बिगत सात आठ महिनादेखि दैनिक बीस बाइस घण्टाको मेहनतपछि आज बेलबारीले ड्रिमल्याण्ड फनपार्क l पाएको छ । तर अझै पनि निर्माण सकिएको छैन । अब होटलको काम बाहेक करिब करिब सबै काम सकिएको बिजयले बताए ।
‘ड्रिमल्याण्ड’ अन्यत्रका फनपार्कभन्दा अलि पृथक र आकर्षक छ । फनपार्क भित्र वालबच्चाको लागि शैक्षिक बाल उध्यमहरुदेखि आरामगर्ने चाइल्ड थिएटर मात्रै होइन, सयभन्दा बढी आकर्षक फोटो खिच्ने स्थलहरु छन् । गेटबाट पस्ने बित्तिकै भएको रेष्टुरेन्ट ढुंगाबाट निर्मित छ, जसको डिजाइन र सजावटले फनपार्कभित्र आउने जो कोहीलाई मख्ख पार्छ ।
रेष्टुरेन्टको दोस्रो तलामा आइसक्रिम वा खानेकुरा खाँदै पार्कको रमिता हेर्ने ठाउँ पनि छ । ड्रिमल्याण्डमा मिस वर्ल्डदेखि मोटु पतलु मात्रै होइन, माया पिरतिमा रमाएका मानव आकृतिका स्वप्निल जोडीदेखि शालिन ब्यक्तित्व झल्कने आधा दर्जनभन्दा बढी मानिसका कलात्मक र त्यतिकै संख्यामा जनावरका आकर्षक आकृती पनि छन् । साथै वास्तविक कमलको फुल पनि देख्न पाइन्छ । फनपार्कमा विभिन्न जातजातिका संस्कृति र भेषभुषा झल्काउने चित्रहरु पनि देख्न पाइन्छ ।
‘ड्रिमल्याण्ड’ खासै महँगो पनि छैन । अन्यत्र डेढ दुई सयमा पाउने चाउमिन ६० /७० रुपैयाँमा पाइन्छ । गेटमा ५० रुपैयाँको टिकट काटे पुग्छ । दैनिक बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म खुला रहने फनपार्कको निर्माण नसकिए पनि कार्तिक २० देखि घुम्न आउनेहरुको लागि खुला गरिएको छ । हाल कहिलेकाहींँ एक हजारभन्दा बढी भए पनि दैनिक सरदर ३ सयभन्दा बढी जना पर्यटक आउने गरेको संचालिका सुष्मा आचार्य (सुवेदी) बताउँछिन् ।
एक दुई महिनादेखि खासगरी पुर्वमा ‘ड्रिमल्याण्ड’ निकै चर्चित बनिसकेको छ । त्यसैले बिजयालाइ भेट्न आजकाल थुप्रै मिडियाहरु आउन थालेका छन् । पुर्वका स्थानीयदेखि राष्ट्रिय स्तरका पत्रपत्रिका, टेलिभिजन र अनलाइन लगायतका मिडियालाई भेट्न अचेल बिजय र सुष्मालाई भ्याइ नभ्याइ हुन थालेको छ ।
‘ड्रिमल्याण्ड’मा केवल घुम्ने र मनोरञ्जन लिने ठाउँ मात्रै होइन, घुम्ने, खेल्ने खाने र आरामदायी बस्ने सुबिधा पनि छन् । पर्यटन बर्ष सन २०२० लाई लक्षित गरी झण्डै १ सय जनाले हाल फनपार्कमै पर्यटकीय ब्यबहारको तालिम लिइरहेका छन् ।
फनपार्कलाई केवल पार्क मात्र होइन, तालिम केन्द्र पनि बनाउने बिजयको योजना छ । त्यही योजना बमोजिम अहिले पनि केहीले तालिम लिइरहेका छन् । केही बर्षभित्र हरेक घरमा दक्ष जनशक्ति उत्पादन गरेर रोजगार बनाउने बिजयको लक्ष्य छ । बिजय भन्छन् “पढेकाले मात्र जागिर पाउँछन भन्ने भ्रम चिर्दै नपढेकाहरुलाई समेत तालिम प्रदान गरेर क्षमताअनुसारको रोजगारी उपलब्ध गराउँछौँ ।”
बेलबारीमा नै किन ?
विजयको बुुझाइमा यो फनपार्कले बेलबारी मात्र नभएर सिंगो देशको पर्यटनलाई टेवा पुर्याउछ । नेपाल पर्यटन बर्ष सन २०२० नजिकिँदै जाँदा खाना, छाना र रिफ्रेसमेन्ट समेतको सुविधा भएको ड्रिमल्याण्डले महत्वपुर्ण योगदान पुर्याउने छ । भविष्यमा कञ्चनजंघा हिमालसम्म जाने पर्यटकहरुलाई बेलबारीमा रोक्ने विजयको योजना छ । पर्यटकहरुलाई आकर्षित गर्दै बेलबारीलाई एउटा पर्यटकीय हव बनाउन सकिन्छ भन्ने उनको बिश्वास छ ।
बेलबारी प्रसस्त पर्यटकीय सम्भावना भएको ठाँउ हो । बेतना सिमसार, ऐतिहासिक धनपाल गढी दरबार, रमिते पर्यटकीय स्थल,, सृजना पार्क, सिसौली लगायत आकर्षक पर्यटकीय स्थल छन् । त्यतिमात्र होइन, बेलबारीमा डेढदेखि दुई दर्जन सिमसार क्षेत्र पनि छन् ।
तर पर्यटकहरुलाई आकर्षित गर्ने योजना भएपनि कसरी सुविधा दिने र आकर्षित गर्ने भन्ने परिपक्व योजना छैन । यधपी पर्यटकीय ब्यबहारको बिकास गरी पर्यटनका क्षेत्रमा काम गर्ने हो भने यो क्षेत्र पर्यटकीय हव नै हो । – प्रस्तुति – अम्बिका भण्डारी